arin enterprises

साढे २ करोडको लागतमा बाँसबारीमा पर्यावरण पार्क बन्दै

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण १०, शनिबार

आज भन्दा करीब २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ । 

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा बाँसवारी इको पार्कको शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने निश्चित भएको हो । 

पार्कको शिलान्यास गर्दै प्रमुख शाक्यले बजेट अभाव हुन नदिने भन्दै पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । 

सो अवसरमा शाक्यले उहाँले जनप्रतिनिधिले परिक्षा दिइरहेको भन्दै परिक्षाको मूल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको भएको पनि बताउनुभयो । 

काठमाडौँ महानगरपालिकाको वडा–३, बुढालिनकण्ठ नगरपालिकाकाको वडा–७ र टोखा नगरपालिकाको वडा–४ सँग जोडिएको उक्त स्थानमा करीब २ करोड ५० लाखको लागतमा पार्क निर्माणको प्रक्रिया अघि बढाएको वडाध्यक्ष दिपक केसीले जानकारी दिनुभयो । 

पहिलो चरणमा उत्तरतर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा सम्पन्न गर्ने लक्ष्य लिएको उहाँको भनाई छ । 

दोस्रो चरणको योजनामा किरिया पुत्री भबन र पार्क निर्माण गरिने महानगरपालिकाको भनाई छ । 

‘पहिलो चरणको काम २०७७ मंसिर मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएका छौँ,’ केसीले भन्नुभयो, ‘दोस्रो चरणको काम पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’

पार्क निर्माणको लागि महानगरपालिकाले यो बर्षको बजेटमा एक करोड पचास लाख विनियोजन गरेको भन्दै समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाएको अध्यक्ष केसीले जानकारी दिनुभयो । 

काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । 

डिजाइन टिमकी इञ्जिनियर निलिमा थापा श्रेष्ठले त्यहाँको वातावरण र पर्यावरणलाई ध्यानमा राखेर नै डिजाइन तयार पारेका र पार्कको नाम नै इको पार्क राखेका बताउनुभयो ।

पार्कलाई हरियाली मैत्री बनाउन त्यहाँका रुख बिरुवालाई यथावत राख्दै थप हरियाली बनाउने गरी डिजाइन तयार पारेको उहाँले जानकारी दिनुभयो । 

इन्जिनियर श्रेष्ठका अनुसार पार्कमा तीन ओटा प्रवेशद्वार रहनेछ भने मुख्य प्रवेशद्वारमा सानो ठाउँ राखिएको छ । क्रियापुत्री भवनलाई केही उचाइमा राखिएको छ ।

चुनदेवी सहयोगी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद आचार्यले यो पार्क निर्माणपछि यहाँका १ सय ११ परिवार र छिमेकी नगरपालिका सहित २० हजार मानिसले यहाँ पार्कको आनन्द लिनसक्ने बताउनुभयो ।

यो पार्कमा झरनाको आनन्द लिन सकिने छ भने योगा स्थल र अध्ययनका लागि सुहाउँदो वातावरण हुने बताइएको छ । पार्कको डिजाइनमा ढुंगेधारा र मन्दिर पनि रहने छ ।  बालबालिकाहरुलाई खेल्न मिल्ने उधान समेत यहाँ रहने छ ।

Categorized in स्थानीय