जसपामा फेरी अर्को चिरा
SamacharDesk – बिकाश | २०७८ आषाढ १८, शुक्रबार

जनता समाजवादी पार्टीमा हाल अध्यक्षद्वय उपेन्द्र यादव समूह र महन्थ ठाकुर समूहको चिरा त देखिएको छ नै । दुवै समूह अलग अलग वैठक बस्दै एक अर्कालाई कारवाही गरेको भन्दै वक्तव्य निकाल्नमा व्यस्त छन् ।
यी दुई समूहबीचको विवाद समाधान हुन नपाउँदै जसपामा फेरी अर्को चिरा देखिएको छ ।
पार्टी श्रोतका अनुसार हाल पार्टी भित्रका केही नेता, कार्यकर्ताहरु पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईप्रति असन्तुष्ट रहेका छन् । विशेष गरी नेवाः समुदायका नेता कार्यकर्ताहरु भट्टराईप्रति रुष्ट रहेको बुझिएको छ ।
पटक पटक नेवाः भावना विपरित अभिव्यक्ति दिँदै आएको भन्दै नेवाः नेता कार्यकर्ताहरु भट्टराईप्रति रुष्ट रहेको बताइएको छ ।
विगतमा पनि भट्टराईले स्थानीय नेवाः समुदाय लक्षित यस्तै विवादास्पद अभिव्यक्ति दिएको र हालै फेरी काठमाडौं बबरमहल कोठाभाडा सम्बन्धमा गरिएको ट्वीटले पुरानो विवाद ब्युँतिएको पार्टी श्रोतले बताएको छ ।
‘कोठाभाडाको विषयलाई लिएर दुई समुदायबीच मनमुटाव बढिरहेको अवस्था देखिएको छ, यस्तो अवस्थामा विवाद समाधानमा पहल गर्नुपर्नेमा पूर्व प्रधानमन्त्री जस्ता व्यक्तिले आगोमा घ्यू थप्ने खालको ट्वीट गरेकोमा हाम्रो घोर आपत्ती छ’ पार्टीका एक नेताले भने ।
पूर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले केही दिन अघि मात्रै रुपा सुनार–सरस्वती प्रधान काण्डमा रुपा सुनारलाई सबैले साथ दिन आह्वान गर्दै ट्वीट गरेका थिए ।
जसपाका एक नेताले समाचारडेस्कसँग कुरा गर्दै यस अघि भट्टराईले काठमाडौंका स्थानीय जनताले फुटपाथ पसल हटाउन माग गरिरहँदा फुटपाथ पसल हटाउन नहुने तर व्यवस्थित गरिनुपर्ने अभिव्यक्ति दिँदै अभियानमा जुटेका स्थानीयको मन दुखाएको दावी गरे ।
सो समयमा पनि यो विषयमा पार्टीमा छलफल हुँदा आइन्दा यसरी अभिव्यक्ति नदिने बताएको भट्टराईले कोठाभाडा काण्डमा फेरी विना सरसल्लाह, स्थिती भड्काउने खालको अभिव्यक्ति दिएको उक्त नेताको भनाई छ ।
यस विषयमा छलफल गर्नको लागि सम्पर्क गर्न खोज्दा भट्टराईले बेवास्ता गरेको श्रोतले बताएको छ ।
‘हामीले यस विषयमा छलफल गर्न उहाँलाई पटक पटक भेट्न खोज्यौं, तर दिनहुँ विभिन्न समूह, व्यक्तिहरुसँग वैठक बसिरहेका उहाँले हामीलाई भेट्न कुनै चासो देखाउनुभएन’ श्रोतको भनाई छ ।
यस्तै रवैया कायम रहे आफुहरु सामुहिक राजीनामा दिने मनसायमा पुगेको उक्त नेताले बताएका छन् ।
Categorized in राजनीति