arin enterprises

करदातालाई जागरुक बनाउन ‘आनसुकी घरबेटी बा’ सडक नाटक

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७८ बैशाख ३, शुक्रबार

काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आजबाट ‘सडक नाटक’ सुरु गरेको छ ।

करदातालाई कर तिर्ने नागरिक दायित्व बोध गराउनुकासाथै करमा आनासुकीको पनि महत्व हुन्छ भन्ने सकारात्मक सन्देशसहित आनासुकी घरबेटी बा ‘सडक नाटक’ सुरु गरिएको काठमाडौँ महानगरपालिका राजस्व विभागका प्रमुख डाक्टर शिवराज अधिकारीले जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन भन्दै पहिलो चरणमा काठमाडौँ क्षेत्र भित्रका १० स्थानमा सडक नाटक देखाउने योजनालाई अघि बढाएको जनाएको छ ।

‘पहिलो चरणमा हामी काठमाडौँ क्षेत्र भित्रका वसन्तपुर, कालिमाटी, कलंकी, चावहिल, गौशाला, नयाँ बानेश्वरलगायतका विभिन्न १० स्थानमा सचेतनासहित सडक नाटक गर्छौं । प्रभावकारी भयो भने स्थानहरु थप गर्ने तयारी छ’ राजस्व विभाग प्रमुख अधिकारीले बताउनुभयो ।

अधिकारीले कोभिडका कारण चालु आर्थिक वर्षमा राजश्व संकलनको प्रक्षेपण नै कम गरेको भन्दै प्रक्षेपण अनुरुप कर संकलन गर्ने उदेश्यले यस्तो अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।

सडक नाटकको कथाको सन्देश सुनाउँदै अधिकारीले भन्नुभयो, ‘कर केही समय छल्न सकिन्छ तर, कुनै न कुनै दिन कानुनको फन्दामा परिन्छ । थोरै–थोरै कर तिर्दै गए सम्मानजनक जीवन बाँच्न सकिने सन्देश नै नाटकले देखाउन खोजेको हो ।’

उहाँले कोभिडका कारण यो वर्ष व्यवसाय करमा २० प्रतिशत र होटल, मनोरञ्जनसँगै पर्यटनसँग सम्वन्धित क्षेत्रलाई ५० प्रतिशत छुट दिएको र सम्पत्ति करमा पनि होटललाई असारसम्म ७५ प्रतिशत छुट दिएको पनि जानकारी गराउनुभयो । साथै कोभिडका बेला एक महिना घरभाडा छुट दिएका घरधनीलाई असारसम्म करमा १० प्रतिशत छुट दिएको पनि बताउनुभयो ।

Categorized in स्थानीय