arin enterprises

लागूऔषध विरूद्धको महाअभियान सुरु

SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ फाल्गुण १७, शनिबार

लागूऔषध विरूद्धको महाअभियान कार्यक्रम सुरु भएको छ ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आज (शनिबार) आयोजित समारोहका बीच गृहमन्त्री रमेश लेखकले महाअभियानको शुभारम्भ गरे ।

समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले लागूऔषध समाजमा घातक चुनौतिको रूपमा देखा परेको र लागूऔषध दुव्र्यवसनले व्यक्तिलाई मात्र नभई समग्र परिवार तथा समाजलाई नै खोक्रो बनाउने विचार राखे ।

‘लागूऔषध दुर्व्यसनका कारण आत्महत्या, साइबर अपराध, यौनजन्य अपराध, घरेलु हिंसा, सवारी दुर्घटना जस्ता अपराधहरूमा समेत वृद्धि भइरहेको छ । यसको न्यूनिकरण र नियन्त्रणमा सरकार र प्रहरीको साथै समाजका विभिन्न व्यक्तित्वहरूलाई जोड्दै महाअभियानको रूपमा लड्न जरूरी छ’ गृहमन्त्री लेखकको भनाई हो ।

सो अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले लागूऔषध समाजमा अत्यन्तै पेचिलो बन्दै गएको बताउँदै यसको समाधानका लागि नेपाल सरकार र मातहतका निकायहरूको प्रयासले मात्र सम्भव नहुने बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लागूऔषध विरूद्ध जनचेतना फैलाउँदै यसको न्यूनिकरण तथा नियन्त्रणका लागि सामाजका सबै तह र तप्कालाई सम्मिलित गराई अभियान संचालनको आवश्यकता रहेको बताए ।

प्रहरी महानिरिक्षक कुँवरले लागूऔषध कारोबार तथा दुव्र्यवसनीका घटना न्यूनिकरण र नियन्त्रणका लागि स्थानीय तहसँग समन्वय गर्दै नेपाल प्रहरीबाट चालिनुपर्ने कदममा खरो ढंगबाट प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लागूऔषध सम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।

सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक तामाङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सि., अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक वडाल, अनेरास्ववियु (क्रान्तिकारी) केन्द्रीय उपाध्यक्ष मदन ढकाल र ने.वि.संघका केन्द्रीय सभापति दुजाङ शेर्पाबीच लागूऔषध विरूद्ध आपसी सहयोग, समन्वय र सहकार्य सम्बन्धी समझदारीपत्र आदान प्रदान समेत भएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त महाअभियान कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरू, जिल्ला न्यायाधिवक्ताहरू, गृहमन्त्रालयका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू, नागरिक समाज, संचारकर्मी, कलाकार, स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

Categorized in समाज