हास्य कलाकार अपूर्व धरौटीमा रिहा
SamacharDesk | २०७९ कार्तिक ४, शुक्रबार

हास्य कलाकार अपूर्वक्षितिज सिंह धरौटीमा रिहा हुनुभएको छ ।
हास्यव्यङ्ग्य कलाकार सिंहले गत भदौ १० गते ‘स्ट्यान्ड अप कमेडी’ नामक भिडियो युट्युबमा अपलोड गर्नुभएको थियो । उक्त भिडियोमा नेवारी संस्कृतिमाथि आँच आउने गरी व्यङ्ग्य गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी परेको थियो ।
सर्लाही हरिवनका अपूर्वक्षितिजविरुद्ध सो भिडियोमा नेवारी समुदाय तथा नेवाः संस्कृतिमाथि आँच पुगेको भन्दै नेवारी समुदायका अधिकारकर्मीले उहाँविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा चारवटा उजुरी दिएका थिए ।
काठमाडौँ जिल्ला अदालतले बिहीबार सिंहलाई दुई लाख ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले सिंहलाई धरौटीमा छाड्ने आदेश दिएको हो ।
प्रहरीले अपूर्वविरुद्ध चारवटा अभियोगमा मुद्दा चलाउन जिल्ला सरकारी वकिलको कार्यालयलाई सिफारिस गरेको छ । जसमा मुलुकी अपराध संहिता, २०७४ को दफा १६० अन्तर्गत भेदभावपूर्ण व्यवहार गर्न नहुने, दफा ६५ अन्तर्गत सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा मुद्दा चलाउन माग गरेको छ ।
त्यसैगरी दफा १६६ अन्तर्गत जातपातका आधारमा छुवाछूत वा अन्य भेदभावपूर्ण व्यवहार गर्न नहुने र दफा १६८ अनुसार अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने कसुरमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
Categorized in समाज