अरनिको राजमार्ग एकतर्फी सञ्चालन
SamacharDesk – बिराज | २०८१ आषाढ २६, मंगलबार

पहिरोका कारण १४ घण्टादेखि अवरुद्ध अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा ल्याइएको छ ।
सोमबार राति ९ बजे राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका— ८ स्थित ५० किलोमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो ।
सडक माथिबाट रातभर खसिरहेको पहिरो पन्छाउन राती असहज भएपछि बिहान ७ बजेदेखि दुईवटा मेसिनले आंशिक पहिरो पन्छाइएको थियो । आंशिक पहिरो पन्छाएपछि एकतर्फी यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
राजमार्ग पूर्णरूपमा खुलाउन सुरक्षाकर्मीको निगरानीमा पहिरो पन्छाउने काम भइरहेको प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उक्त स्थानमा पहिरोको जोखिम भने कायमै छ । यहाँ पहिरो खसेर करिब दुई सय मिटर सडक अवरुद्ध भएको थियो ।
गएरातिदेखि नै सडक अवरुद्ध हुँदा दुवैतर्फ सयौँ सवारी साधन रोकिएका थिए । साना सवारीलाई भने वैकल्पिक बाटोबाट गन्तव्यमा पठाइएको थियो ।
Categorized in समाज