ग्रेटर टुँडिखेल बनाउन वास्तुविद् समाजको माग
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० माघ १६, मंगलबार

नेपाली वास्तुविद् समाजले खुल्ला मंचमा फुटबल ग्राउन्ड बनाउने काठमाडौं महानगरको निर्णयप्रति असहमति जनाएको छ ।
समाजले सोमबार एक विज्ञप्ती जारी गर्दै काठमाडौं महानगरको यस निर्णयलाई सच्याउन माग गरेको हो ।
समाजका अध्यक्ष ईश्वरलाल जोशी र महासचि अर्जुन वस्नेतबाट हस्ताक्षर गरिएको विज्ञप्तीमा यहाँका खुल्ला ठाउँलाई शहरको फोक्सो मानिने भन्दै यस्ता खुल्ला ठाउँलाई अतिक्रमण गरीएमा फोक्सोले काम गर्न छोड्ने भनिएको छ ।
‘शहरको खुल्ला ठाउँलाई Lungs of the city मानिन्छ । यदि खुल्ला ठाउँहरुलाई एक विशेष प्रयोगको लागि मात्र अतिक्रमण गरियो भने एक दिन फोक्सोले काम गर्न छोड्नेछ र जीवनको हानि अपरिहार्य छ’ विज्ञप्तीमा लेखिएको छ ।
पंचायत कालदेखि सबैको आवाज सुनाउने थलोको रुपमा रहेको खुल्ला क्षेत्रको थप अतिक्रमण हुने विषय दीगो शहरी विकासका लागि नसुहाउने समाजले जनाएको छ ।
सीमित वर्गको लागि मात्र लाभ हुने गरी संभाव्यता तथा औचित्यको गहन अध्ययन अनुसन्धान नै नगरी परियोजना अघि बढाउन लागिएको समाजले भनेको छ ।
यसै विज्ञप्तीमार्फत समाजले त्रिपुरेश्वरदेखि रानीपोखरीसम्मको ग्रेटर टुँडिखेल बनाउन काठमाडौं महानगरको ध्यानाकर्षण गराएको छ ।
