arin enterprises

कार्तिक नाचमा आज युद्धकला देखाइने

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ कार्तिक १६, बुधबार

आज कार्तिक नाचको चौथौ दिन युद्धकला प्रस्तुत गरिँदैछ । आजको युद्धकला प्रस्तुतिमा शितज्वर, विष्मज्वरको युद्ध र महादेव कृष्णको युद्ध कथा प्रदर्शन गरिनेछ । कात्तिक नाच प्रवन्ध समितिका अनुसार आज बेलुकीको ७ बजेबाट युद्धकला प्रस्तुति सुरु गरिनेछ ।

आजको प्रस्तुतिमा कृष्णगणमा कृष्णको भुमिकामा कलाकार विवेक कृष्ण श्रेष्ठले अभिनय गर्दैछन् भने रुक्मीणीमा मैत्री शाक्य छिन् । त्यसैगरी मन्जिल शाक्य सत्यभामा बन्नेछन् भने जयको भूमिकामा लिवेश कुलु, विजयमा रिकिस मर्हजन रहेका छन् ।

महादेवगणमा महादेवको भुमिकामा सुरेन्द्र अमात्य, पार्वतीमा निश्चल शाक्य छन भने गणेश स्वर्णिम महर्जन कुमार–न्हूजः शिल्पकार, नन्दी प्रजय श्रेष्ठ, र भृण्डीको भूमिकामा सुलभ लाखे छन् ।

यस्तै शितज्वरको भूमिका पुजन श्रेष्ठ र बिष्मज्वरको भूमिका कोशिस ताम्रकारले निर्वाह गर्दैछन् । मन्जिल जोशी पृथ्वीमाता बन्दा हरिशंकरमा सलिन मर्हजन हुनेछन् ।

उषाहरण लीलाको अन्तर्गत पर्ने युद्धकला एक नृत्य हो । सिद्धिनरसिंह मल्लले शुरु गरेको कात्तिक नाचमा उनका नाति योगनरेन्द्र मल्लले गीती नाटक उषाहरण लीला थप गरेका हुन् ।

यो विगतमा ७ दिनसम्म चल्ने गर्दथ्यो । हाल विभिन्न कारणवस यो प्रस्तुति एक दिनमा सिमीत हुन पुगेको छ ।

कार्तिक नाच बराह अवतार कार्तिक १९ गते प्रस्तुत गरिनेछ भने को मुख्य आर्कषणको रुपमा रहेको नृसिंह अवतार कार्तिक २० गते प्रस्तुत गरिनेछ । यस्तै २२ गते दधि लिला प्रस्तुत गर्दै यस वर्षको कार्तिक नाच सम्पन्न हुनेछ ।

युद्धकलाको कथा

उषा पराक्रमी दैत्यराज वाणासुरकी छोरी हुन् । वाणासुरले महादेवको कठोर तपस्या गरि महादेवसँग सहस्रभुजा (एक हजार हात) र कसैले उसँग युद्ध गर्न आए स्वयम महादेव नै आएर उनको रक्षा गर्नुपर्ने वरदान मागेछन् ।

कृष्णका नाति अनिरुद्ध्र र दैत्यराज वाणासुरकी छोरी उषा प्रेममा पर्छन् । यो कुरा वाणासुरलाई मन पर्दैन र उसले अनिरुद्ध र उषाको प्रेम सम्बन्धलाई अस्वीकार गर्छन् ।

त्यसपछि भने अनिरुद्धले उषाको हरण गर्छ । आफ्नो छोरीलाई हरण गरि लगेको थाहा पाएपछि दैत्यराज रिसले चुर भई अनिरुद्धसँग युद्ध गर्न जान्छ ।

युद्धको क्रममा दैत्यराजले अनिरुद्धलाई नागपासले बाँधिदिन्छ । कृष्णले आफ्नो नातिलाई नागपासले बाँधेको थाहा पाई सेनासहित दैत्यराजसँग युद्ध गर्न पुग्छन् ।

युद्ध गर्न जाँदा महादेवले विष्मज्वर र कृष्णले शितज्वरलाई पठाउँछ । त्यसपछि विष्मज्वर र शितज्वरको युद्ध हुन्छ । लामो युद्धपछि विष्सज्वर शितज्वरसँग पराजित हुन्छन् ।

 

आफ्नो वरदानको मान राखेर वाणासुरको रक्षा गर्न स्वयम् महादेव नै आएर कृष्णसँग युद्ध गर्न थाल्छन् ।

यी दुईजना बीचमा लामै समयसम्म युद्ध चल्छ । महादेव र कृष्ण बीचको युद्धको प्रकोप सहन नसकेर पृथ्वी आएर उनीहरुलाई छुट्याउँछन् ।

अन्त्यमा महादेव र कृष्ण एकै हो भनी आधा महादेव र आधा विष्णुको हरिशंकर रुप देखाइ नृत्य गरिन्छ ।

Categorized in संस्कृति