arin enterprises

बाँकेको पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अनुशिक्षण

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ मङ्सिर ७, आइतबार

नेपाल पर्यटन बोर्डको आयोजनामा नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिएको छ ।

आज नेपालगन्जमा अनुशिक्षण उद्घाटन कार्यक्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले पत्रकारिता क्षेत्रबाट लुम्बिनी प्रदेश भित्र रहेका थुप्रै पर्यटकीय सम्भावनालाई उजागर गर्न जरुरी रहेको बताइन् ।

श्रेष्ठले नेपालगन्ज कर्णाली र सुदूरपश्चिमको गेटवे हुनुका साथै प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण भएको उल्लेख गर्दै पर्यटकीय गन्तव्यको प्रबद्र्धनका लागि मिडिया र सरोकारवालाहरुबीच समन्वयात्मक भुमिका महत्वपुर्ण हुने विचार राखे । 

‘नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाले राज्यको चौथो अंग पत्रकारिता क्षेत्रको सिप विकास र क्षमता अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले यो कार्यक्रम गरेको हो । आगामी दिनमा यस क्षेत्रको पर्यटक विकासमा थप कार्यक्रमहरु ल्याउन हामी प्रतिबद्ध छौं’ श्रेष्ठले भनिन् ।

नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा),बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा गरीएको कार्यक्रमका सहभागीहरुले यस्ता कार्यक्रमले पर्यापर्यटनको क्षेत्रमा भइरहेका प्रयासलाई उजागर गर्न क्रियाशिलता थप बढाउने बताए ।

कार्यक्रममा नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा) बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले यस अभिमुखिकरण कार्यक्रमले नेपालगन्जको पर्यटकीय सम्भावना उजागर र प्रबर्द्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरी लगायतले आआफ्ना विचार राखेका थिए ।

बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन रिपोर्टिङ र फोटो पत्रकार सुनिल चुडामणी बज्राचार्यले पर्यटकीय उत्पादनको तस्बिर खिच्ने तरिका र प्रक्रियाबारे अभिमुखिकरण गराएका थिए ।

कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत ६० भन्द बढी पत्रकारहरुको सहभागिता रहेको थियो ।

Categorized in बिजनेस