आजको काठमाडौंः सुनसान कि खुल्ला ?
SamacharDesk – बिराज | २०८३ कार्तिक ४, मंगलबार
हिजोसम्म बजार गए दशैंका लागि आवश्यक सरसामग्री किन्नेको भीड । अनि बल्खु, कलंकी, कोटेश्वर लगायतका काठमाडौं बाहिर जाने नाकातिर गए दशैं मनाउन घर फर्किनेको भीड थियो । जता हेर्यो त्यतै भीडको अवस्था थियो ।
तर आज काठमाडौं खुल्लम खुल्ला भएको छ ।
काठमाडौंमै दशैं मनाउनेहरु आफ्नो प्रायःको किनमेल सकाएर घरमै दशैं मनाउँदै बसेका छन् । अनि अध्ययन, रोजगार आदि सिलसिलामा आफ्नो गाउँठाउँ छोडेर काठमाडौं बसिरहेकाहरु परिवारको साथमा दशैं मनाउन आआफ्ना् घरतिर पुगिसके ।
अहिले काठमाडौंका प्रायः सडकहरु सुनसान र खुल्ला देखिएका छन् । बाटोमा हिँडिरहेका मान्छेहरु पनि फाट्टफुट्ट मात्र देखिन्छन् भने गाडीहरु पनि थोरै मात्र गुडेका छन् ।
काठमाडौंको यस्तो अवस्थालाई लिएर कतिले काठमाडौंले सास फेर्न पाएको छ भनेका छन् कतिको लागि सास्ती पनि भएको छ ।
खुल्ला काठमाडौं
काठमाडौंको सडकहरु जहिल्यै गाडीको हर्नको आवाज, धुवाँधुलोले प्रदुषित भइरहनेमा आज न त ध्वनि, न त वायू प्रदुषण । धेरैले सास फेर्दा पनि हावाको स्वच्छता महसूस भइरहेको अनुभव सुनाए ।
‘गाडी र बाइकको इन्जिनको ठुलठुलो आवाज, हर्न, मान्छेहरुको होहल्ला, अनि धुवाँधुलो, सास फेर्दा पनि हावा नै पीरो जस्तो महसूस हुन्थ्यो, आज त कति आनन्द पो लागिरहेको छ’ कालिमाटी निवासी गीता डंगोलको भनाई हो ।
काठमाडौको मूल सडकहरु जहिले पनि जाम भइरहन्थ्यो । त्यसमा पनि झन बिहान र साँझको अफिस टाइममा त भन्नै परेन ।
१० किलोमिटरको यात्रा गर्न कम्तिमा ४५ मिनेट त लाग्थ्यो लाग्थ्यो । तर त्यहि दुरी आज १० मिनेटमै तय भइरहेको अनुभव बाइक राइडरहरुको छ ।
‘हिजोसम्म यहि कुलेश्वरको बाटो कति साँघुरो लाग्थ्यो, जतिखेर नि जाम, आज यहि सडक जाम नहुँदा र पुरा खुल्ला हुँदा कुनै राजमार्ग झैं लागिरहेको छ ।’ खुसिबुँका श्रवण श्रेष्ठ सुनाउँछन् ।
सुनसान काठमाडौं
यहि अवस्थामा फेरी धेरैलाई भोलि आफन्तकोमा टिका थाप्न जानको लागि पीर बढेको छ । सार्वजनिक सवारी साधनहरु पनि निकै कम संख्यामा चलेको अवस्था छ ।
राइड शेयरिङको सवालमा पनि त्यस्तै अवस्था छ । धेरै राइडरहरु काठमाडौं बाहिरका छन्, जो चाड मनाउन घर पुगिसके । यहिँका स्थानीय राइडरहरु पनि घरमै बसेर चाड मनाइरहेका छन् ।
यस्तो अवस्थामा राइड पाउन निकै गार्हो अवस्था बनेको छ ।
‘आज बिहानै काठमाडौंको तलेजु दर्शन गर्न जाँदा राइड खोजें, मुश्किलै पर्यो पाउन । अब भोलि भक्तपुरमा माइतीमा, काठमाडौंमा मामाघरमा पुग्नुछ । राइड पाइने पो हो कि होइन’ इमाडोल निवासी संगीता बज्राचार्यले भनिन् ।
बल्खुका स्वर्णिम शाक्यको पीडा पनि यस्तै छ । सार्वजनिक यातायात पनि पाइन गार्हो र राइड बुक गर्न खोज्दा पनि भाडा निकै महङ्गो भएको उनको पीडा हो ।
‘राइड शेयरिङमा बाइकहरु नै कम चलेको छ, त्यसमा पनि भएका राइडरहरुले पनि चलनचल्तीको भाडामा एस्सेप्ट नै गरिरहेका छ्रैनन्, भोलि टिकाको लागि यताउति हिँड्न समस्या नै हुने देखियो’ आफ्नो पीडा सुनाए ।
समस्या नै अवसर, अवसर नै समस्या
अध्ययनको लागि, रोजगारको लागि साथै अन्य विभिन्न कारणले देशका ७७ जिल्लाकै बासिन्दा काठमाडौंमा बसोबास गर्दै आएका छन् ।
देश संघीयतामा गइसकेर ७ प्रदेश र ७ प्रदेशका अलग अलग राजधानी बनिसकेर पनि संघीय राजधानी केन्द्रित अवस्था अझै विद्यमान छ ।
आवश्यक विकास राजधानी बाहिर राम्रो ढङ्गले पुग्न सकेको छैन । कतिपय गाउँघरमा त सिटामोल एउटा लिन सदरमुकाम धाउनुपर्ने अवस्था छ ।
यस्तो अवस्थाकै कारण, धेरैलाई स्तरीय शिक्षा अथवा जिविकोपार्जनका लागि राजधानीमा आई बस्नु रहर भन्दा बाध्यता बनेको छ ।
यस्तो बाध्यताका कारण काठमाडौंले थेग्न सक्ने भन्दा बढि जनसंख्या यहाँ बसोबास गरिरहेका छन् । यसकारण यहाँ ध्वनि प्रदुषण, वायू प्रदुषण, खानेपानी, ढल, पार्किङ लगायतका समस्या पनि बढेकै छ ।
साथमा, फरक भूगोलका बासिन्दाको एकै ठाउँमा बसोबास हुँदा काठमाडौंका अर्थतन्त्रलाई चलायमान बनाएको अवस्था पनि हो ।
यस्तो अवस्थालाई हेर्दा काठमाडौं केन्द्रीत राज्यको नीतिले काठमाडौंलाई समस्या पनि दिएको छ भने अवसर पनि उत्तिकै सिर्जना गरेको देखिन्छ ।
Categorized in राष्ट्रिय




