arin enterprises

दर्शक घटेकोले चलचित्र क्षेत्रमा संकट

SamacharDesk – विजयरत्न | २०८३ कार्तिक २, आइतबार

लाखौँ कलाकर्मी र प्राविधिकको रोजीरोटी जोडिएको चलचित्र विधा राज्यको नीतिगत कमजोरीका कारण मारमा परेको भन्दै सरोकारवालाहरूले साझा आक्रोश पोखेका छन् ।

परिवर्तन नेपालले बडा दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान कार्यक्रम’मा भएको नेपाली कला क्षेत्रको विद्यमान संकट र राज्यको उदासीनता विरुद्धको बहसमा यस्तो आक्रोश पोखिएको हो ।

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष दिनेश डीसीले नीति बने पनि सोही अनुरूप ऐन संशोधन हुन नसक्दा काम गर्न निकै सास्ती र समस्या भोग्नुपरेको आफ्नो अनुभव सुनाए ।

उनले आफ्नो दुई वर्षको कार्यकालमा चलचित्र क्षेत्रको हितका लागि केही महत्त्वपूर्ण कामहरूको जग बसाल्ने प्रयास गरेको स्मरण गरे ।

परिवर्तन नेपालका उपाध्यक्ष एवम् विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठले बजारमा बढ्दै गएको गीत/सङ्गीतको विकृति रोक्न यसको बलियो नियमन र पेसाकर्मीहरूको हकहितका लागि राज्यका निकाय जिम्मेवार हुनुपर्ने माग राखे ।

लाखौँ कलाकर्मी, सङ्गीतकर्मी र प्राविधिकलाई सडकमै बिचल्ली हुन नदिन राज्यले तुरुन्तै प्रोत्साहन र सहयोगका ठोस कार्यक्रम ल्याउनुपर्ने विचार मोहन निरौलाले व्यक्त गरे ।

यो बहसलाई निष्कर्षमा पुर्याउन आयोजक संस्थाले ठोस कदम चाल्ने तयारी थालेको बताएको छ ।

संस्थाका महासचिव एवं म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेले अब छिट्टै सरोकारवालाहरूको बृहत् बैठक डाकेर ठोस प्रस्ताव तयार पारिने जानकारी दिए ।

‘हामी चुप लागेर बस्दैनौँ, यो समस्या समाधानका लागि सञ्चार मन्त्रालय, संस्कृति मन्त्रालय र चलचित्र विकास बोर्डलगायतका निकायमा आधिकारिक प्रस्ताव पेश गर्नेछौँ,’ पाण्डेले भने ।

Categorized in पेजथ्री