arin enterprises

आज तलेजु भवानीलाई तल ल्याइने

SamacharDesk – बिराज | २०८३ कार्तिक १, शनिबार

आज बडादशैंको सातौं दिन तलेजु भवानीलाई मन्दिरबाट आगमघरमा ल्याउने परम्परा ‘द्यः कुहांबिज्याकेगु’ सम्पन्न भएको छ ।

आज बिहान ७ः३७ को शुभ साइत अनुसार तुलजा भवानीलाई मूल मन्दिरबाट विधि अनुसार तल ल्याई आगम घरमा राखिएको हो ।

काठमाडौंको तलेजुमा त्रिशुल चोकबाट माथि रहेको मूल मन्दिरको गर्भगृहबाट तुलजा भवानीलाई बोकी तल मूल चोकमा रहेको आगम घरमा राखिएको छ ।

त्यस्तै पाटनको तलेजुमा पनि आजै तुलजा भवानीलाई गर्भगृहबाट दशैंघरमा राख्न लगिन्छ । साथै भक्तपुरमा पनि तुलजा भवानीलाई तल ल्याउने (द्यः कुहां बिज्याकेगु) परम्परा आजै सम्पन्न हुने गर्दछ ।

सो क्रममा धूपबत्तीहरु बालेर, गोकुल धुप, कर्पुरको आदिको आरतीको आरतीसँगै बाजागाजाहरुका साथ मल्ल राजाहरुको खड्ग, ढाल आदि पनि तुलजा भवानीसँगै लग्ने गरिन्छ ।

आज तल ल्याइएको तुलजा भवानीलाई विजया दशमीको दिन फेरी मूल गर्भगृहमै फर्काउने गरिन्छ ।

आजकै दिन पाटनमा मनमानेश्वरी देवीको ‘द्यः कुहांबिज्याकेगु’ परम्परा पनि आजै सम्पन्न हुने गर्दछ । आजको दिनमा मनमानेश्वरी देवीलाई हालको मूःछेँ आगमबाट मूलचोकस्थित श्रीमन्मानेश्वरीको दशै कोठामा विराजमान गराइन्छ ।

१९९० को महाभूकम्प अघि, देगु तलेजु र तलेजु भवानीको मन्दिरको बीचमा मनमानेश्वरी मन्दिर रहेको थियो । देवीलाई सोही मन्दिरबाट तल ल्याई दशै कोठामा राखिने चलन थियो ।

१९९० को महाभूकम्पमा देगु तलेजुसंगै उक्त मन्दिर पनि भत्किए थियो  भने पछि उक्त मन्दिरको पुनर्निर्माण हुन सकेन ।

त्यसपछि पुजारी वर्ग एउटै भएको हुँदा मण्डिछेँ (मूछेँ) आगममा लगी राख्ने गरिएको जानकारी अध्येता साथै मण्डिछेँ पूजारी परिवारका शिवेश शर्माले दिए ।

मनमानेश्वरीलाई लिच्छवी राजाहरुको इष्टदेवीको रुपमा लिइन्छ ।

Categorized in संस्कृति