बडादशैंको सातौं दिन, आज फूलपाती
SamacharDesk – बिराज | २०८३ कार्तिक १, शनिबार
आज आश्विन शुक्ल सप्तमी, अर्थात् बडादशैंको सातौ दिन, फूलपाती । आजको दिन शक्तिस्वरूपा भगवती कालरात्रीको पूजा गरिँदैछ ।
रक्तबीज नामक असुरको बध गर्न माता दुर्गाले कालरात्रीको रुप लिएकी हुन् । फैलिएको कपालसँगै भयानक घना कालो वर्णकी हेर्दा डरालाग्दो स्वरुपकी यिनको दर्शन मात्रैले शुभ फल पाइने धार्मिक विश्वास छ । त्यसैले यिनको अर्को नाम शुभंकरी पनि हो ।
साथै यिनको प्रभावले राक्षस, भूत, प्रेत, पिशाचको साथै सम्पूर्ण नकारात्मक उर्जा नाश हुने, दुष्काल र अज्ञानताको अन्त्य हुने मान्यता छ । गधामा चढेकी यिनको ब्रह्माण्ड समान गोलाकार तीन नेत्र छन् । यिनको श्वासबाट अग्नि प्रवाहित हुने गर्दछ ।
गलामा विद्यूत झैं चम्किएको माला लगाएकी कालरात्रीको चार हात छन् । दाहिनेतर्फमा माथिल्लो हात वरद मुद्रामा र तल्लो हात अभय मुद्रामा छ । त्यस्तै बायाँतर्फको माथिल्लो हातमा फलामको हतियार र तल्लो हातमा खड्ग रहेको छ ।
सप्तमीको दिन माता कालरात्रीलाई गुडको वस्तुको भोग दिइन्छ । त्यसैगरी गरिबलाई दान पनि गरिन्छ । यसो गर्नाले दरिद्रता नाश हुने विश्वास रहेको छ ।
शारदीय नवरात्रको सातौं दिन साधकको मन सहस्रार चक्रमा प्रवेश गर्दछ । सहस्रार चक्रमा पुग्नु भनेको साधकको लागि ब्रह्माण्डका सिद्धिका द्वारहरु खुल्नु हो ।
शाक्त परम्परामा चामुण्डाको पूजा आराधना गरिँदै
शाक्त वा कौल परम्परामा आजको दिनमा चामुण्डा देवीको पूजा आराधना गरिन्छ । चामुण्डालाई चामुण्डेश्वरी, चामुण्डी वा चर्चिका भनेर पनि चिनिन्छ ।
चण्ड र मुण्ड नामक असुरहरुको वध गर्न दुर्गा भवानीले चामुण्डा रुप लिइएको शास्त्रहरुमा उल्लेख गरिएको छ । चण्ड मुण्ड नामबाटै देवीको नाम चामुण्डा रहन गएको विश्वास गरिन्छ ।
देवी चामुण्डालाई प्रायः मसानघाट वा पवित्र पिपलको रुख नजिक बसोबास गर्ने देवीको रूपमा लिइन्छ । यी देवीको पूजामा मद्य (रक्सी) र बलि दिने परम्परा रहेको छ ।
चामुण्डालाई भयानक अनुहार भएतापनि सुन्दर स्वरूपमा प्रस्तुत गरिएको पाइन्छ ।
हात्ती वा बाघको छाला पहिरिएकी उनको स्वरुप कङ्काल झैं दुबली पातली उनी वृद्ध महिलाको रूपमा देखाइएको छ । शवासनमा उभिएकी उनको आँखा गहिरिएका र कपाल फैलिएको हुन्छ ।
मुण्डमाला लगाएकी उनको बाह्र भुजाहरु हुन्छन् । उनले आफ्ना हातहरूमा डमरु, त्रिशूल, तरबार, सर्प, खट्वाङ्ग, वज्र, काटिएको टाउको र कपालपात्र रहेको हुन्छ । उनी हड्डी, खप्पर, सर्प र बिच्छीका गहनाहरूले सजिएकी हुन्छिन् ।
उनलाई लाटोकोसेरो, भैँसी वा वन कुकुर माथि चढेको पनि देखाइएको छ ।
आज फुलपाती भित्र्याइने
आज बडादशैंको सातौं दिन, फुलपाती भित्र्याइने गरिन्छ । आजको दिन केरा, हलेदो, धान, अशोक, वेलपत्र, दारिम, धानको वाला, केराको बोट, जयन्ती र उखुलगायतका लहरापात अनि विभिन्न प्रकारको फूलपात समिश्रित फूलपाती भित्र्याइन्छ ।
फुलपातीको रुपमा भित्र्याइने यी वस्तुहरुलाई विभिन्न देवीको प्रतीकको रुपमा लिइन्छ ।
केरालाई ब्रह्माणी, दारिमलाई रक्तचण्डिका, धानलाई लक्ष्मी र हलेदोलाई दुर्गाको रुपमा लिइन्छ । त्यस्तै माने चामुण्डाको, कर्चुर कालिकाको, बेल शिवाको, अशोक शोकहारिणीको र जयन्ती कार्तिकीको प्रतीक मानिन्छ ।
आजकै दिन गोरखा दरबारबाट ल्याइएको फुलपाती हनुमानढोका भित्र्याइन्छ । गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौँको जमल आइपुगेको फुलपाती जमलबाट बाजागाजासहित हनुमानढोका पुर्याइन्छ ।
Categorized in संस्कृति




