arin enterprises

बेलायतबाट फर्काइएको तोरण कुमारी घरमा पुनर्स्थापित

SamacharDesk – बिराज | २०८२ मङ्सिर ७, आइतबार

वसन्तपुरमा रहेको जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण पुनर्स्थापित गरिएको छ ।

वि. सं. २०५६ सालतिर चोरिएको तोरण संयुक्त राज्य वेलायतको बाराकाट संग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय संग्रहालय छाउनीमा राखिएको थियो ।

शुक्रवार काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलसमेत राष्ट्रिय संग्रहालय पुगी तोरण ल्याइ वसन्तपुरस्थित कुमारी घरमा पुनर्स्थापना गरेका थिए ।

सो अवसरमा महानगरपालिका उपप्रमुख डंगोलको साथ सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगत, वडा २३ का अध्यक्ष एवं महानगरपालिकाको विधायन समितिका संयोजक मचाराजा महर्जन, कुमारी घरका संरक्षक गौत्तम शाक्यसहित अधिकारी राष्ट्रिय संग्रहालय पुगेका थिए ।

तोरण पुनर्स्थापना पछि उपप्रमुख डंगोलले, अन्य स्थानबाट हराएका कलाकृति, बस्तु तथा आकृति पुनर्स्थापनाको असल अभ्यास प्रारम्भ भएको प्रतिक्रिया दिनुभयो ।

कुमारी घरका संरक्षक गौत्तम शाक्यका अनुसार यी २०५६/०५७ मा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएको थियो । तोरण निकाल्दै देखेर प्रश्न गर्नेलाई चोरले, मर्मत गर्न लगेको भनेर जवाफ दिएको शाक्यले जानकारी दिए ।

‘३ महिनाभित्र ३ वटै तोरण हराएका हुन् । तोरण हराएपछि बुच्चै भएका ढोकामा करिब ३ वर्षपछि प्रतिकृति तोरण बनाउन लगाएर स्थापना गरिएका हुन् । ती तोरण बनाउँदा प्रतिगोटा करिब ८० हजार रुपियाँ खर्च भएको थियो’ शाक्यले भने ।

तोरण पुनस्र्थापित गराउने सम्बन्धमा मंसिर १ गते महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको बैठकले निर्णय गरेको थियो ।

कुमारी घरको भुइँ तलामा रहेका झ्यालमध्ये बायाँतर्फबाट पाँचौ नम्बरमा पर्ने झ्याल माथि राखिएको अर्धगोलाकार क्षेपु आकृति भएको तोरण १७ देखि १८ औँ शताव्दीमा काठबाट निर्माण भएको हो । यो १०४.५५ सेन्टिमिटरको छ ।

कुमारी बहाल राजा जय प्रकाश मल्लको पाला (वि. सं. १८१४) मा निर्माण भएको हो ।

Categorized in स्थानीय