arin enterprises

कलाकार एकाराम सिंह रहेनन्

SamacharDesk – बिराज | २०७८ जेठ २४, सोमबार

कलाकार साथै ईतिहास, संस्कृति अन्वेषक एकाराम सिंहको निधन भएको छ ।

कोभिड १९ बाट संक्रमित भई बुढानीलकण्ठस्थित करुणा अस्पतालमा उपचाररत सिंहको आज दिउँसो ४ः३० बजे निधन भएको हो ।

कोभिड पोजेटिभ देखिएपछि उनी सो अस्पतालमा उपचाररत थिए भने उपचारकै क्रममा आज उनको निधन भएको हो ।

गत शुक्रबार मात्रै उनको स्वास्थ्यमा केही सुधार देखिएको बताइएको थियो । तर फेरी स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

नेपाली सेनाले शव व्यवस्थापन गरिने परिवार श्रोतले जानकारी दिएको छ ।

स्वर्गीय सिंह नेपाली चित्रकला क्षेत्रमा कुशल कलाकारको रुपमा परिचित छन् । नेपाली संस्कृतिको बारेमा अध्ययन अनुसन्धान गर्ने रुचाउने सिंहलाई स्थानीय कला संस्कृतिका विज्ञको रुपमा लिइन्छ ।

काठमाडौं महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितको पालामा रन्जना, देवनागरी र रोमन लिपिमा टोलको नामको साइनबोर्ड राखिएको थियो । त्यस योजनामा उनको ठुलो योगदान थियो ।

त्यस्तै हालै काठमाडौं महानगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रम ‘येँ देय् म्हसीके’ को कक्षा एकदेखि आठसम्मको पाठ्यपुस्तकमा पनि चित्र सबैले उनैले लेखेका थिए ।

उनले विभिन्न लोककथाहरुको कमिक्सहरुको लागि पनि चित्र कोरेका छन् ।

स्वर्गीय सिंहको परिवारमा धर्मपत्नी र एक पुत्र, दुई पुत्री छन् । 

Categorized in समाज