arin enterprises

असार १५ धान दिवस

SamacharDesk – राम डंगोल | २०७९ आषाढ १५, बुधबार

“मानो रोपेर मुरी” फलाउने महिनाको रुपमा लिइन्छ असार महिनालाई । र यहि महिनामा हरेक वर्षको १५ गतेको दिनमा रोपाई पर्व मनाउने गरिन्छ ।

अचेल यो दिनलाई रोपाईँ दिवस नै भन्न थालिएको छ । अझ नेपालले २०६२ सालदेखि त असार १५ लाई “राष्ट्रिय धान दिवस”कै रुपमा मनाउन थालेको छ । भन्दाभन्दै राष्ट्रिय धान दिवस मनाउन थालिएको पनि १७ वर्ष भइसकेको रहेछ ।

आजको दिन खेतमा धान रोपाईंसँगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनारेञ्जन गर्ने गरिन्छ । आजको दिनमा दही चिउराको विशेष महत्त्व बनेको छ । सबै जना खेतमा रोपाईँ गर्दै दहिचिउरा खाँदै मज्जा लिने गर्दछन् ।

कामको चटारोले थकित भएका किसानलाई दही र चिउराले शीतलता त दिने नै भयो, साथमा रोपाईँ गर्न शक्ति पनि प्राप्त हुने विश्वास छ । खेतीपाती बाहेक अन्य पेशा र व्यवसायमा रहेकाहरुले पनि आज दही च्यूरा खाई असार १५ मनाउने गर्छन् ।

जब रातभरि झरी परेर खेतबारी हिलाम्मे हुन्छ, तब हरेक किसानको मनमा आशाको फूल फुल्छ । धान रोपेर वर्षभरिलाई भात खान पुग्ने चामल फलाउँछु भन्ने आश हुन्छ । पहिलेपहिले रोपाइँ हुने घरमा अघिल्लो दिनदेखि नै बाजागाजाको जोडजाम हुन्थ्यो ।

रोपाइँमा गाइने असारे भाकाको बेग्लै मिठास गुञ्जिन्थ्यो । तर समयक्रमसँगै रोपाइँ गीत हराउन थालेको छ । रोपाहाका रूपमा लहरै खेत रोपिरहेका महिला, खेत जोत्ने हली, बाउसे र आली ताछ्ने युवाहरू सबै मिलेर असारे भाका गाउने चलन थियो ।

गीत गाउँदै, एकअर्कामा हिलो छ्याप्दै जुहारी खेल्दै गरिएको रोपाइँ निकै रमाइलो हुने गर्दथ्यो ।

यसरी रोपाई पर्वदेखि राष्ट्रिय धान दिवसकै रुपमा मनाइरहँदा कृषिप्रधान मुलुक नेपालले कत्तिको फड्को मारेको छ त ? विगतमा यहाँको जनसंख्याको ८० प्रतिशत भन्दा बढी कृषि पेशामै आवद्ध रहने गरेकोमा अहिले आएर यो संख्या कत्तिको संकुचित हुन पुगेको छ त ? प्रश्नहरु उब्जिएका छन् ।

कृषिप्रधान देशमा अहिले हजारौं हेक्टर जमिन बाँझो राखेर देशका हजारौं युवा शक्ति विदेश विदेश पलायन हुनु परिरहेको छ । जसले कृषि कर्म गर्नेहरुको संख्यामा दिनप्रतिदिन कमी आउँदै गरेको छ ।

नेपालको उत्पादकत्व घट्दै जानुको मुख्य कारण युवा जनशक्ति विदेश पलायन, सिमित व्यक्तिको हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत हुर्न, आकासे खेतीमा निर्भर रहनुपर्ने अवस्था, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुनु जस्ता मुख्य कारण छन् ।

त्यसमध्ये पनि खेती भएको जमिनमा धान उत्पादन गर्नका लागि आवश्यक मल किसानहरुले समयमै नपाउनु नै सबैभन्दा ठूलो समस्याको रुपमा देखिएको छ ।

सानोथिमीस्थित आफ्नो खेतमा आलि लगाउँदै गरेका ४५ वर्षीय मनोज भण्डारी विगतका दिनमा असारे भाका गाउँदै खेतमा काम गर्ने रमाईलो असार सम्झिँदै अहिले न्यास्रो मान्छन् ।

कहिले दाईकोमा, कहिले काकाकोमा त कहिले भाइकोमा महिनाभरि नै रोपाई हुन्थ्यो । तर अहिले त आप्mनो सानो टुक्रा जमिनमा रोपाई गर्न पनि गाह्रो छ’ भण्डारी भन्छन् ।

अचेल खेतीयोग्य उर्वर जमिन प्लटिङमा परिणत हुँदै गएकोमा पनि भण्डारी दुःख मान्छन् । ‘पहिले धानका बाला झुल्ने खेतहरुमा क्रंक्रीटका भवन ठडिन थालिए । उर्वर भूमिलाई प्लटिङ गरेर बेच्न थालेपछि त खेतिपाती गर्ने जमिनै कम हुन थाल्यो ।

बाँकी भएका जमिनमा केही गरौं भन्दाखेरी पनि कहिले मल नपाउनु कहिले समयमै वर्षा नहुनु, त कहिले खेतालाहरु नै नपाउँदा यो कृषि पेशा नै संकटमा परिसक्यो’ भण्डारी दुःख पोख्छन् ।

अझ यस वर्षको नीति तथा कार्यक्रममा ल्याइएको हाँस्यास्पद कुरा त के छ भने जग्गा बाँझो राखेमा १ लाखसम्म जरिवाना रे ? देशमा रहेका जनशक्तिलाई विदेश पठाई दिने अनि आयातमा जोड दिने, मारमा परेका किसानहरुलाई अझ मारमै पार्ने । अनि कहाँबाट हुँदैन त खेत बाँझो ?

सरकारले आप्mनो तर्पmबाट गर्नुपर्ने कामहरु मलखादको व्यवस्था, किसानले उब्जाएका वस्तुको उचित मूल्य दिलाउने, सिँचाईको व्यवस्था तथा उत्पादित वस्तुहरु बजारसम्म पु¥याउन आवश्यक चाँजोपाँजोसम्म मिलाउन सकेको छैन राज्यले । यस्तो अवस्थामा हरेक वर्ष राष्ट्रिय धान दिवस मनाउनु एक कर्मकाण्डी चलन मात्र भएको देखिन्छ ।

 

सरकारले अहिले ४ किलोको दरले किसानहरूलाई मल उपलब्ध गराउने गरेको छ । जबकी प्रति किसानलाई प्रति एक रोपनीको दरले कमसेकम पचास केजी मलको आवश्यकता पर्छ । हरेक वर्ष जसो किसानहरूले आफूहरूले बालीमा लगाउन मलको हाहाकार भएको गुनासो गरे पनि सरकारमा बसेका उच्च तहका व्यक्तिहरु कानमा तेल हालेर बसेका छन् ।

सीमित व्यक्तिको चलखेल र कमिसनका कारण सिंगो मुलुकका किसानहरु नै प्रताडित बन्नु परेको छ । धान रोप्न मुख्यतः युरिया र डिएपी मल प्रयोगमा आउँछ ।

विरगन्जस्थित कृषि साम्रगी कम्पनीको प्रादेशिक कार्यालयले देशका १६ स्थानमा मलको आपूर्ति गर्दछ । लिमिटेडले ग्लोबल टेन्डरमार्फत आयात गर्नुपर्ने ४० हजार टन डिएपी र ३० हजार टन युरिया अहिलेसम्म किसानको पहुँचमा आइसकेको छैन ।

अर्काेतर्पm कृषि मन्त्रालय जस्तो जिम्मेवार निकाय सम्हालिरहेका कृषिमन्त्रीले भाषणमा त ‘नेपाललाई यति टन मल आवश्यक छ, त्यसको लागि भारतसँग सम्झौता भइसकेको छ ।

यति टन अनुदानमा आउँछ’ भन्दै निकै ठूलो भाषण गर्छन् । तर असारको मध्यसम्म आइपुग्दा पनि किसानहरु मलको लागि लडाईं नै लड्नु परिरहेको छ । किसानहरुको धैर्यको बाँध फुटिसकेको छ ।

जसले गर्दा उनीहरु मल लुटपाट गर्नसम्म पनि पछि परेनन् । गत दुई साता अघि धादिङको धार्के बजारमा रासायनिक मल बोकेको २ वटा ट्रक नियन्त्रणमा लिएर रासायनिक मल लुटपाट गरेबाट नै यो कुरा प्रमाणित हुन्छ ।

 

माडोलस्थित आफ्नो खेतमा काम गरिरहेका ४० वर्षीय पूर्णकाजी महर्जन पनि कृषि पेशाप्रति निराश देखिन्छन् । धान रोप्ने पूरै फाँटहरुमा अहिले घरैघर फल्दा धान कहाँ रोप्ने भन्ने पीर खेतीपाती गर्ने किसानहरुलाई परेको छ ।

‘पहिला त आफ्नो मात्रै होइन अरुको जग्गा लिजमा लिएर समेत खेती काम गरिन्थ्यो । मैले त तरकारी बेचेरैै एक सिजनमा मोटरसाइकल समेत किन सकें । तर अहिले आफ्नो परिवार पाल्नै मुश्किल छ, अहिले त आफ्नो जग्गामा धान रोप्न पनि गाह्रो छ’ महर्जनको भनाई छ । चर्काे मूल्यमा मल, विऊ किन्नुपर्ने, खेत खन्नका लागि ट्याक्टरलाई चाहिने डिजेलको भाउ आकासिनु, यी सब कारणले खेतमा धान रोप्दा पनि घाटा नै हुने उनको भनाई छ ।

‘अब सरकाले यस्तो कुरामा चासो दिएको होइन, बजार भाउ बढेको बढै छ । धान रोपेर आप्mनो लगानी नै उठ्दैन, बरु चामल किनेर खानु नै फाइदा’ महर्जनले भने । त्यस्तै स्यूचाटारका ६५ वर्षीय बद्रि दवाडी विगतमा यस्तो रासायनिक मल पनि राख्नु नपर्ने अनुभव सम्झन्छन् । आप्mनै घरबाट उत्पादित प्रांगारिक मल राख्ने गरेको दवाडी सुनाउँछन् ।

‘उहिले अहिले जस्तो मलको लागि धाउनु नै पर्दैनथ्यो । यस्ता नानाथरीका किटनाशक औषधी पनि चाहिँदैनथ्यो, अहिले त के के हो के के ।

काम गर्ने मानिस नै भेटाउन गाह्रो भइसक्यो’ दवाडी सुनाउँछन् । धान दिवसबाट पर्यटनमा चाहिँ केही फाइदा पुगेको छ । यस दिन पोखरा जस्ता पर्यटकीय स्थलहरुमा पर्यटकका लागि विशेष कार्यक्रम आयोजना गरेर रोपाईंको महत्वबारे जानकारी दिइन्छ ।

उनीहरुलाई हिलोमा रेस, रेसलिङ, हलो जोत्ने, हलो रेस जस्ता कार्यक्रमहरु आयोजना गरी मनोरञ्जन गराइन्छ ।यसबाट केही मात्रामा भए पनि पर्यटन क्षेत्र उत्थानका लागि टेवा पुगेको देखिन्छ ।

अहिले कर्मकाण्डीको रुपमा गमलामा रोपाई गरेर धान दिवस मनाउनुको औचित्य छ त ? यसतर्पm बेलैमा ध्यान पु¥याई उत्पाकत्व बढाई निर्यात बढाउनेतिर ध्यान नदिने हो भने नेपालले पनि श्रीलंकाको नियती भोग्नु नपर्ला भन्न सकिन्न ।

Categorized in बिचार
SKIP THIS Maharjan Complex