arin enterprises

सडक मानव व्यवस्थापनका लागि आश्रम निर्माण हुने

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ आश्विन २०, बुधबार

सडकमा वेसहारा जीवन विताइरहेका व्यक्तिहरुको व्यवस्थापनका लागि मानव सेवा आश्रम निर्माण हुने भएको छ ।

आश्रमको भवन निर्माणको लागि आज नागार्जुन नगरपालिका, काठमाडौं महानगरपालिका र मानव सेवा आश्रमबीच त्रिपक्षीय सम्झौता भएको छ ।

नागार्जुन नगरपालिकाले उपलब्ध गराउने जग्गामा काठमाडौँ महानगरपालिकाले भवन निर्माण गरिदिने गरी आज त्रिपक्षीय सम्झौता भएको हो ।

सम्झौतामा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, नागार्जुन नगरपालिका प्रमुख मोहनबहादुर बस्नेत र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गर्नुृभएको हो ।

नागार्जुन नगरपालिका वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको बागेश्वरी मन्दिर परिसरको कि. नं. ८२ र १८९ को करीब १८ रोपनी जग्गामा नगरपालिकाकै नाममा आश्रम निर्माण गरिनेछ । भवनको नाम ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ हुनेछ ।

यहाँ रहने व्यक्तिहरुको लिंग, उमेर समूह, शारीरिक तथा मानसिक अवस्था आदिका आधारमा सेवा सञ्चालन र व्यवस्थापनको काम मानव सेवा आश्रमले गर्नेछ ।

विभिन्न कारणहरुबाट घरवारविहिन भएर काठमाडौं जिल्लाभित्रका विभिन्न सडक किनाराहरु तथा मठ मन्दिरजस्ता सार्वजनिक ठाउँका खुल्ला आकाशमुनि कष्टपूर्ण जीवन यापन गर्ने व्यक्तिहरुलाई उद्धार गरेर यस आश्रममा राखिनेछ ।

‘काठमाडौँमा शारीरिक तथा मानसिक रुपमा अशक्त, मनोरोगी, अनाथ, अपाङ्गता भएका, अशक्त तथा सहयोगापेक्षी कसैले पनि भोकै बस्नु पर्दैन, जसको कोही हुँदैन उसको लागि सरकार छ’ सम्झौता पछि महानगर प्रमुख शाक्यले भन्नुभयो ।

त्यस क्रममा नागार्जुन नगरका प्रमुख बस्नेतले अहिले काठमाडौँ महानगर र नागार्जुन नगरविचबाट थालिएको सहकार्य विस्तारै जिल्लाका सबै नगरसँग जोडिने विश्वाश व्यक्त गर्नुभयो ।

सम्झौताबमोजिम सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माण र निर्माणपछि भवनका लागि चाहिने फर्निचरका लागि निर्धारण हुने सबै रकम बहुबर्षिय योजनाअन्तर्गत काठमाडौँ महानगरपालिकाले व्यहार्नेछ ।

प्रक्रियाबाट माग भएको रकम काठमाडौँ महानगरपालिकाले नागार्जुन नगरपालिकालाई उपलब्ध गराउनेछ ।

जग्गामा भवन निर्माण गर्न आवश्यक प्रक्रिया पूरा गर्ने, आफ्नो नाममा नक्सा तथा भवनको स्वामित्व कायम गर्ने, निर्माण गर्न ठेक्का लगाउने, निर्माण अवधिभर नियमित अनुगमन, सुपरीवेक्षण तथा गुणस्तर नियन्त्रण गर्ने काम नागार्जुन नगरपालिकाले गर्नेछ ।

उद्देश्यअनुसारको प्रयोजनमा प्रयोग गर्न भवन हस्तान्तरण योग्य भएपछि सञ्चालनका लागि मानव सेवा आश्रमलाई जिम्मा दिइनेछ । यसै बर्ष निर्माण कार्यको थालनी गर्ने र ०८० सालमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सम्झौता गरिएको हो ।

Categorized in स्थानीय