जापानमा जि–सेभेनको सम्मेलन आजदेखि हुने
SamacharDesk | २०८० जेठ ५, शुक्रबार

जि–सेभेनको सम्मेलन आजदेखि सुरु हुने भएको छ । विश्वका औद्योगिक मुलुकहरुको संगठन जापानको हिरोशिमामा जि–सेभेनको सम्मेलन हुनलागेको हो ।
जि–सेभेनको वार्षिक भेलामा विश्वका सात धनी देशहरु जापान, अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, क्यानडा र इटाली सहभागि हुने गरेका थिए । युरोपेली संघ यसको आधिकारिक सदस्य नभए पनि उसले प्रतिनिधिहरू पठाउने गरेको थियो ।
आयोजक जापानका प्रधानमन्त्री फुमियो किशिदाले आजको सम्मेलनमा थप आठजना पाहुनालाई निम्तो गरेका छन् ।
यसपटक भने सम्मेलनमा अस्ट्रेलिया, भारत, ब्राजिल, दक्षिण कोरिया, भियतनाम, इन्डोनेसिया, अफ्रिकन युनियनको प्रतिनिधित्व गर्दै कोमोरोस र प्यासिफिक टापु फोरमको प्रतिनिधित्व गर्दै कुक आइल्याण्ड पनि सहभागि हुँदैछन् ।
रुस युक्रेन युद्ध चरम उत्कर्षमा पुगेको बेला जि–सेभेनको बैठकमा विश्वका अन्य देशहरुलाई पनि सहभागि गराइनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
सन् १९९० ताका जि–सेभेन समुहसँग विश्वको कुल जिडिपीको आधाभन्दा बढी हिस्सा थियो । अहिले यो हिस्सा ३० प्रतिशतभन्दा तल झरेको छ ।
जि–सेभेनको घट्दो आर्थिक प्रभावलाई पुर्नजिविन दिन संगठनले अन्य साथीहरुको खोजी गरिरहेको जानकारहरु बताउँछन् ।
Categorized in अन्तर्राष्ट्रिय