arin enterprises

नेपालमा एसुसको नयाँ प्रिमियम ल्यापटप सार्वजनिक

SamacharDesk – आकाश राजोपाध्याय | २०८० बैशाख २६, मंगलबार

नेपाली बजारमा एसुसको नयाँ प्रिमियम ल्यापटप सार्वजनिक भएको छ ।

सोमबार नेपालका लागि एसुसको आधिकारिक बिक्रेता नागमणि इन्टरनेसनलले एक कार्यक्रममा जेनबुक १४ यूएम ३४०२ राइजेन फाइभ र जेनबुक १४ यूएम ३४०२ राइजेन सेभेन मोडेलका ल्यापटप सार्वजनिक गरेको हो ।

यो मोडेलका ल्यापटप अहिले विभिन्न कम्प्युटर स्टोर, दराज अनलाइन र नागमणि इन्टरनेसनलको वेबसाइटमार्फत् खरिद गर्न सकिनेछ ।

मूल्य

जेनबुक १४ यूएम ३४०२ राइजेन सेभेनको मूल्य एक लाख ४४ हजार ४ सय ४४ रुपैयाँ रहेको छ भने जेनबुक १४ यूएम ३४०२ राइजेन फाइभको मूल्य एक लाख २२ हजार २ सय २२ रुपैयाँ तोकिएको छ ।

फिचर

जेनबुक १४ यूएम ३४०२ फाइभमा एएमडी राइजेन फाइभ ७५३० यू मोबाइल प्रोसेसर (६–कोर/१२–थ्रेट्स, १६ एमबी क्यास) रहेको छ ।

१४ इन्च १६ः१० रेजोलुसन, स्लिम बेजल, नानो एज डिस्प्ले रहेको छ । यो ल्यापटप विन्डोज ११ र राइजेन ७०० सिरिज प्रोसेसरद्वारा सञ्चालित छ ।

ग्राफिक्सको सन्दर्भमा भने यसमा एएमडी ¥याडिओन ग्राफिक्स प्रयोग भएको कम्पनीले उल्लेख गरेको छ ।

राइजेन फाइभ मोडेलको बोर्डमा ८ जीबी एलपीडीडीआर ४ एक्स मेमोरी रहेको छ भने यसमा ५१२ जीबी स्टोरेज र १६ जीबी र्‍याम रहेको छ ।

कनेक्टिभिटीका हिसाबले राइजेन फाइभ मोडेलमा ब्लुटुथ फाइभ, वाई–फाई सिक्स ई (८०२.११ एएक्स) रहेको छ । जसले प्रयोगकर्तालाई गिगाबिट क्लासको वायेरलेस अनुभव दिने कम्पनीको दाबी छ ।

७२० पिक्सेल एचडी क्यामेरा भएको यस मोडेलमा एसुस नम्बरप्याड २.० (ASUS NumberPad 2.0) टचप्याड रहेको छ ।

कम्पनीले राइजेन फाइभ मोडेलमा विभिन्न आईओ पोर्टहरू उपलब्ध गराएको छ । विशेषगरी एउटा टाइप ए यूएसबी ३.२ जेन टु, दुई ओटा थन्डरबोल्ट फोर, २.१ टीएमडीएस एचडीएमआई, ३.५ एमएम अडियो ज्याक र माइक्रो एसडी कार्ड रिडर पोर्ट पनि रहेका छन् ।

यसमा ७५ वाट आवर फोर सेल लिथियम पोलिमर ब्याट्री रहेको छ जसले १८ घण्टासम्म पावर उपलब्ध गराउने दाबी गरेको छ । त्यस्तै ल्यापटप डाउन भएपनि ४९ मिनेटमै ६० प्रतिशतसम्म चार्ज गर्न सकिने छ । यसलाई चार्ज गर्न ६५ वाट टाइप–सी एसी एडप्टर उपलब्ध गराइएको छ ।

यसको तौल एक किलो ४०० ग्राम रहेको छ ।

कम्पनीले एसुसको जेनबुक सिरिजले प्रयोगकर्तालाई पहिले कहिल्यै अनुभव नगरेका फिचरहरूको आनन्द दिने दाबी गरेको छ ।

त्यस्तै पीसीआईई एसएसडी (PCIe SSDs) ले प्रयोगकर्ताका विभिन्न कामलाई सहज ढङ्गले सम्पन्न गर्ने कम्पनीले उल्लेख गरेको छ ।

Categorized in बिजनेस