arin enterprises

सञ्चारमन्त्री र नेपाल टेलिभिजनका महाप्रबन्धकलाई पत्रकार दबूबाट ध्यानाकर्षण

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण ९, मंगलबार

नेवाः पत्रकार राष्ट्रिय दबूले संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई भेट गरी विविध समस्याबारे ध्यानाकर्षण गराएको छ ।

दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठको नेतृत्वमा गएको पत्रकार राष्ट्रिय दबूको टोलीले मन्त्री शर्मालाई ध्यानाकर्षण पत्र बुझाउँदै मातृभाषा पत्रकारिता क्षेत्रमा विद्यमान अवस्था र समस्याका बारेमा ध्यानाकर्षण गराएको हो ।

ध्यानाकर्षण पत्रमार्फत पत्रकार दबूले मातृभाषा पत्रकारिता क्षेत्रको विकास र विस्तारको लागि राज्यबाट थप सहुलियत, सुविधालाई नीतिगत रुपमा सम्बोधन गर्न सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रभावकारी भूमिका निर्वाह गर्न माग गरिएको छ ।

त्यस्तै दबूले सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनबाट हालै तामाङ र लिम्बु भाषामा समाचार प्रसारण गर्न शुरु गरेकोमा हर्ष प्रकट गरेको छ ।

सञ्चारमाध्यममा सबैको आवाज र मातृभाषामा सूसुचित हुने हकलाई सम्मान गरेको बताउँदै दबूले नेपाल टेलिभिजनमा नेपालभाषाबाट पनि समाचार प्रसारण गर्नका लागि आवश्यक पहल गरिदिन मन्त्री शर्माको ध्यानाकर्षण गराएको थियो ।

त्यस्तै पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यस्तरबाट मान्यता दिनुपर्ने माग पनि मन्त्री समक्ष राखेका थिए । भेटमा अध्यक्ष श्रेष्ठले नेपालमा मातृभाषाबाट पत्रकारिताको शुरुआत भएको सय वर्ष पुग्ने तरखरमा रहेको जानकारी गराएका थिए ।

नेपाल संवत् १०४५ सालको बुद्धजयन्तीको दिन नेपालभाषा माध्यमबाट ‘बुद्ध धर्म’ प्रकाशित भएको मन्त्री शर्मालाई जानकारी गराउँदै श्रेष्ठले पहिलो मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्यलाई राज्यबाट पनि मान्यता दिनुपर्ने माग गरेका थिए ।

दबूले नेपाल संवत् ११४४ अर्र्थात् आगामी २०८० साल कार्तिकदेखि अर्को वर्ष कार्तिकसम्म मातृभाषा पत्रकारिता शताब्दी महोत्सव मनाउने तयारी गरिरहेको पनि सो अवसरमा जानकारी गराइएको थियो ।

९ बुँदे ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री शर्माले नेवाः पत्रकारहरुको योगदानको प्रशंसा गर्दैै विभिन्न भाषाभाषी समेटेर नेपाल टेलिभिजनमा नेपालभाषाको समाचार प्रशारणका लागि आफूले कुरा राख्ने बताइन् ।

नेपालकै प्रथम मातृभाषी पत्रकार धर्मादित्य धर्माचार्य प्रतिष्ठान बनाउने कुरामा खुसी व्यक्त गर्दै मन्त्री शर्माले राज्य तहबाटै प्रतिष्ठान बनाउनको लागि छुट्टै समिति गठन गरी पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

यसैबीच दबूका सदस्यहरुले नेपाल टेलिभिजनका महाप्रवन्धक फुलमान बललाई पनि भेट गरेर नेपाल टेलिभिजनमा नेपालभाषाको पनि समाचार राख्नका लागि ध्यानाकर्षण पत्र बुझाएको छ ।

सो अवसरमा महाप्रवन्धक बलले नेपालभाषालाई आफूले पनि माया गरेको यस भाषालाई टेलिभिजनमा समावेश गर्न पाए आफु पनि खुशी हुने बताए ।

साथै उनले नेपाल भाषाको रंजना लिपिले संसारमा नेपाल चिनाएकोले यस लिपिको संरक्षण सबै ठाउँबाट हुनुपर्ने विचार पनि राखेका थिए ।

Categorized in समाज