arin enterprises

महान्यायाधिवक्ता खरेलबाट डोटीमा जिल्ला सरकारी वकील कार्यालयको भवन शिलान्यास

SamacharDesk – बिकाश | २०७७ माघ १५, बिहिबार

महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले जिल्ला सरकारी वकील कार्यालय, डोटीको भवन शिलान्यास गर्नुभएको छ ।

महान्यायाधिवक्ताको कार्यालयबाट अनलाइनमार्फत बुधबार सम्पन्न कार्यक्रममा महान्यायाधिवक्ता खरेलले जिल्ला सरकारी वकील कार्यालय, तेह्रथुम र वैतडीको नवनिर्मित भवनको उद्घाटन समेत गर्नुभयो । दुवै कार्यालयका शिलालेखको अनावरण गरी खरेलले नवनिर्मित भवनको समुद्घाटन गर्नुभएको हो ।

सो अवसरमा महान्यायाधिवक्ताले सरकारी वकील कार्यालयहरूलाई भौतिक साधन स्रोत सम्पन्न बनाएर उपयुक्त कार्य वातावरण बनाउन महान्यायाधिवक्ताको कार्यालय क्रियाशील भएको बताउनुभयो । उहाँले सरकारी वकीलहरूले बौद्घिक विकास र व्यावसायिक विकाससँगै निष्ठापूर्वक वस्तुनिष्ठ प्रमाणको मूल्यांकन गरेर अभियोजन गर्नुपर्नेमा जोड दिनुभयो ।

‘सरकारी वकील कार्यालय पीडितको कार्यालय भएकाले पीडितमैत्री वातावरण कार्यालयमा हुनुपर्छ’ महान्यायाधिवक्ता खरेलले भन्नुभयो ।

अपराध हुनुभन्दा अगाडि अपराधको सचेतना सम्बन्धी जानकारी मानिसहरूलाई गराउनुपर्नेमा जोड दिँदै खरेलले प्रहरी र सरकारी वकीलले समुदाय स्तरमा सचेतना गराउने कार्यक्रमहरू संयुक्त सहकार्यमा आयोजना गर्नुपर्ने बताउनुभयो ।

महान्यायाधिवक्ताको कार्यालयका वरिष्ठतम नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले सरकारी वकील कार्यालयको नयाँ भवन निर्माणसँगै संस्थागत सुदृढीकरणमा मद्दत पुगेको विचार राख्नुभयो ।

वैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी र तेह्रथुम जिल्ला अदालतका जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलले नयाँ भवनहरूको निर्माणले सरकारी वकील कार्यालयहरूबाट दिइने सेवा प्रभावकारी र गुणस्तरीय रूपमा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।

महान्यायाधिवक्ता खरेलको कार्यकालमा महान्यायाधिवक्ताको कार्यालयसहित ३५ वटा सरकारी वकील कार्यालयका नयाँ भवनहरु उद्घाटन भैसकेको कार्यालयले जनाएको छ । साथै ६ वटा सरकारी वकील कार्यालयका भवनहरु यसै आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य अन्तिम चरणमा रहेको पनि कार्यालयले जानकारी दिएको छ ।

Categorized in समाज