आज अष्ट्रेलिया र साउथ अफ्रिका आमने सामने हुँदै
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन २५, बिहिबार

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र साउथ अफ्रिकाबीच प्रतिस्पर्धा हुदैछ । यी दुई नेपाली समय अनुसार दिउँसो सवाँ २ बजे लखनउमा आमनेसामने हुदैछन् ।
पाँच पटकको विश्वकप च्याम्पियन अष्ट्रेलिया उपाधिको दाबेदार टिम हो । अफ्रिकी टिमको पछिल्लो प्रर्दशनले उसलाई पनि यस विश्वकप क्रिकेटको दाबेदार टोली बनाईदिएको छ ।
श्रीलंकाविरुद्ध कीर्तिमानी योगफल र एकै खेलमा तीन अफ्रिकी खेलाडीको शतकले साउथ अफ्रिका प्रतियोगिताको एक बलियो टिमको रुपमा आएको हो ।
यही कारण दुई ठुला टिमबीचको भिडन्तलाई महत्वका साथ हेरिएको छ ।
साउथ अफ्रिकाले विश्वकपमा धुवाधार सुरुवात गरेपनि अष्ट्रेलियाका लागि सुखद रहन सकेन ।अष्ट्रेलिया पहिलो खेलमा भारतसँग सजिलै पराजित भएको थियो ।
विश्वकप खेल्नुअघि घरमै अष्ट्रेलियन टिमले साउथ अफ्रिकाविरुद्धको सिरिज ३–२ ले गुमाएको थियो । जसमा सुरुआती दुई खेल अष्ट्रेलियाले हारेको थियो ।
विश्वकपका प्राय भेटमा साउथ अफ्रिकामाथि अष्ट्रेलिया हाबी हुदै आएको छ ।
साउथ अफ्रिका र अष्ट्रेलिया एकादिवस क्रिकेटमा हालसम्म १ सय ८ पटक आमने सामने भएको छ । तीमध्य अष्ट्रेलियाले ५० र साउथ अफ्रिकाले ५४ पटक जित हासिल गरेको छ भने तिन खेल बराबरीमा टुंगो लागेको छ ।
अष्ट्रेलिया प्रतियोगितामा पहिलो जितको खोजीमा छ ।
यस्तै साउथ अफ्रिका पनि अष्ट्रेलियालाई हराउँदै लगातार दोस्रो जितको अपेक्षामा छ ।
Categorized in स्पाेर्ट्स