प्रसाईंको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश
SamacharDesk | २०८१ जेठ २४, बिहिबार

सर्वोच्च अदालतले दुर्गा प्रसाईँको मेडिकल कलेज सञ्चालनको पक्षमा सोमवार आदेश दिएको छ।
सर्वोच्च अदालतले झापाको बिएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन परमादेश दिएको छ। उनले लामो समयदेखि झापामा स्थापित बी एन्ड सी मेडिकल कलेजमा चिकित्साशास्त्र अध्यापन गर्न विश्वविद्यालयको सम्बन्धन माग्दै आएका थिए।
न्यायाधीशहरु डा. कुमार चुडाल र सारंगा सुवेदीको इजलासले काठमाडौं विश्वविद्यालय काभ्रे र चिकित्सा शिक्षा आयोग, भक्तपुरका नाममा परमादेश जारी गरेको हो ।
सर्वाेच्चले चिकित्सा शिक्षा आयोगले २०७६ साल चैत १२ गते उक्त कलेजलाई सम्बन्धन नदिने गरी गरेको निर्णय बदर गर्दै १५ दिनभित्र आवश्यक मापदण्ड पूरा गर्न लगाई सम्बन्धन दिन परमादेश दिएको हो।
यो फैसलासँगै १५ दिनभित्र चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालयले यसवारेमा निर्णय गर्नुपर्नेछ । आयोग र काठमाडौं विश्वविद्यालयले फैसला बुझेपछि १५ दिनको समयसीमा गणना हुनेछ ।
१५ दिनको समयसीमा तोकेको सर्वोच्च अदालतले १३ वर्षअघि सरकारबाट तोकिएको मापदण्डको पालना पनि गराउनु भनेको छ ।
२४ चैत, २०६८ मा सरकारले मेडिकल कलेजहरुको मापदण्ड र शर्त तोकेको थियो ।
Categorized in राष्ट्रिय