जसपामा बाबुराम जिम्मेवारीविहिन
SamacharDesk – बिराज | २०७९ आषाढ ३०, बिहिबार

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय वैठकले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई कारवाही गर्दै सम्पूर्ण जिम्मेवारीबाट हटाएको छ ।
बीरगंजमा भएको जसपाको केन्द्रीय वैठकले संघीय परिषद् अध्यक्ष भट्टराईलाई सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
वैठकले भट्टराईसँगै अन्य ९ जना नेताहरुलाई जिम्मेवारीबाट हटाएको छ । भट्टराईसँगै जिम्मेवारीविहिन बन्न पुगेका नेताहरुमा महेन्द्र राय यादव, रमेश यादव, गंगा श्रेष्ठ, हिसिला यमी, दुर्गा सोव, भक्तबहादुर शाह, दानबहादुर चौधरी र प्रशान्त सिंह परेका छन् ।
भट्टराईलाई जिम्मेवारीबाट हटाएसँगै वरिष्ठ नेता अशोक कुमार राईलाई संघीय परिषद् अध्यक्षमा चयन गरेको छ ।
त्यसैगरी वैठकले निर्वाचन तयारी अभियान समिति पनि गठन गरेको छ । समितिमा नवराज गुरुङ, चन्देश्वर सदा, पञ्चलाल महर्जन, शर्मिला थापा, मनिकर कार्की, बलिराज शाही, भीमबहादुर थापा र हेमन्तराज माण्डब्य रहेका छन् ।
समितिले आसन्न संसदीय निर्वाचनको लागि आवश्यक तयारी गर्ने बताइएको छ ।
बीरगंजमा हिजो बुधबारबाट शुरु भएको जसपा केन्द्रीय वैठक आज सम्पन्न भएको हो ।
पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षबाट बीरगंजमा केन्द्रीय वैठक आह्वान हुँदा बाबुराम भट्टराई पक्षले भने काठमाडौंमा गएको २८ गते मंगलबार काठमाडौंमा केन्द्रीय समिति वैठक आह्वान भएको थियो ।
बीरगंजमा सम्पन्न वैठकमा दुई तिहाई बहुमत सदस्यको उपस्थिती रहेको दावी गरिएको छ ।
Categorized in राजनीति