arin enterprises

बडादशैंकाे पाँचाै दिन, स्कन्दमाताकाे उपासना हुँदै

SamacharDesk – बिराज | २०८० कार्तिक २, बिहिबार

नेपालीहरुको महान चाड बडा दशैंको आज पाँचौ दिन, आश्विन शुक्ल पंचमी ।

घटस्थापनाको दिन दशैं घर वा आगम घरमा स्थापना गरिएको कलश र दुर्गाको प्रतिमाको पूजा आज पनि हुँदैछ ।

बडादशैंको दश दिनसम्म शक्तिको उपासना गर्ने गरिन्छ । यसै क्रममा आज पनि राजधानीका गुह्येश्वरी, शोभा भगवती, नक्साल भगवती, नरदेवी, रक्तकाली लगायत देशका शक्तिपीठहरुमा दर्शन र पूजा अर्चना गर्नेको घुइँचो लागेको छ ।

नेवार समुदायमा भने आज त्यप आजु भन्दै पचली भैरवको कलश यात्रा गरिन्छ ।

स्कन्दमाताको उपासना हुँदै

नवरात्रको पाँचौ दिन आज नवदुर्गा भवानीको पाँचौ रुप स्कन्दमाताको उपासना हुँदैछ । नवदुर्गाको पाँचौ रुप स्कन्दमाता, देवगणका सेनापति कुमार कार्तिकेय वा स्कन्दकी आमा हुन् ।

सूर्यमण्डलकी अधिष्ठात्री देवी स्कन्दमाताको उपासना गर्नाले मनोवान्छित कामना पूर्ण हुने, मृत्युलोकमा परम शान्ति तथा सुख प्राप्त भई मोक्षको द्वार खुल्ने विश्वास रहेको छ । स्कन्दमाताको आराधना गर्नाले बालरूप स्कन्द भगवानको समेत आराधना हुन्छ ।

यिनको दाहिने माथिल्लो हातले स्कन्दलाई काखमा राखेकी छिन् । त्यस्तै माथि उठेको तल्लो हातमा कमलको फूल, देब्रे तर्फ माथिल्लो हात वरद मुद्रामा, माथि उठेको तल्लो हातमा कमलको फूल धारण गरेकी छन् ।

पद्मको आसनमा विराजमान रहेकी यिनलाई पद्मासना देवी पनि भनिन्छ भने यिनको बाहन सिंह हो । हिउँ जस्तो सेतो वर्ण भएकी स्कन्दमातालाई श्रद्धाभक्तिभावले जे चढाए पनि ग्रहण गर्नुहुन्छ भने यिनलाई केरा अधिक प्रिय छ ।

स्कन्दमातालाई वैज्ञानिक दृष्टिले आकर्षण शक्तिको स्वरूप मानिन्छ ।

शारदीय नवरात्रको पाँचौ दिन स्कन्दमाताको उपासना गर्दै साधक विशुद्ध चक्रमा पुग्छन् ।

Categorized in संस्कृति