बज्राचार्य अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड यज्ञमानपतिलाई
SamacharDesk – बिराज | २०८१ पौष १५, सोमबार

यस वर्षको वर्ल्ड बज्राचार्य अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड बौद्ध विद्वान यज्ञमान पति बज्राचार्यलाई प्रदान गरिएको छ ।
शनिवार काठमाडौंमा सम्पन्न वल्र्ड बज्राचार्य अवार्डको तेश्रो संस्करणमा बौद्ध विद्वान बज्राचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो । कार्यक्रममा बौद्ध विद्वान बज्राचार्यलाई मूल चक्रेश्वर फनिन्द्र रत्न बज्राचार्यले ट्रफि र प्रमाण पत्र प्रदान गरे ।
सोही कार्यक्रममा बौद्ध विद्वान धम्मावति गुरुमां र मिस्टर काठमाण्डु जेबिन्द्र रत्न बज्राचार्यलाई विशेष सम्मान गरिएको थियो ।
यस वर्ष विश्वभरीकै विभिन्न विद्यालय, विश्वविद्यालयबाट एसईईदेखि पिएचडी वा सो सरहको तहमा उत्तीर्ण गरेका जम्मा १४६ जना बज्राचार्य कुलपुत्र, कुलपुत्री, कुलवधुहरुलाई सम्मान पत्रसहित र उत्कृष्ट ६७ जनालाई अवार्डको ट्रफी प्रदान गरिएको थियो ।
आयोजक संस्था बज्राचार्य क्लबका अध्यक्ष सर्जु बज्राचार्यले बौद्ध धर्मको संरक्षण, प्रवद्र्धनमा युवा पुस्तालाई आकर्षित गर्न क्लबले विभिन्न कार्यक्रम र गतिविधि गर्दै आएको र सोही क्रममा अवार्डको आयोजना गर्दै आएको बताए ।
‘अज्ञानता वा उत्प्रेरणाको कमीले हुन सक्छ, आजको युवा पुस्ता पुर्खाद्वारा स्थापित मुल्य मान्यता, संस्कारहरुबाट बिस्तारै बिमुख हुँदैछ । यस्तै अशमञ्जसमा रहेका युवाहरुलाई आफ्नो पहिचान र कर्तब्यप्रति समेच बनाउन बज्राचार्य क्लबले भुमिका खेल्ने जमर्को गर्दैछ । यसकै एक प्रयास हो “वर्ल्ड बज्राचार्य अवार्डस्” अध्यक्ष बज्राचार्यले भने ।
कार्यक्रम संयोजक सुजन बज्राचार्यले विश्वमै प्रशिद्ध बौद्ध र्धर्मको प्रचार प्रसार साथै अध्ययन अध्यापनको नेतृत्व नेपालीबाटै हुनुपर्नेमा जोड दिए ।
‘हाल बज्राचार्य एउटा थरको रुपमा रहेता पनि बिगतमा बौद्ध धर्मको गहिरो अध्ययन र साधनाको सफलताबाट प्राप्त हुने एउटा पदवी हो । अब हामीले बौद्ध धर्ममा आस्थावान सबैलाई साँचो अर्थमा ‘बज्राचार्य’ बनाउन पर्दछ र बौद्ध धर्म प्रचारप्रसार तथा अध्ययन अध्यापनको नेतृत्त्व हामी नेपालीले लिनुपर्छ’ संयोजक सुजनले भने ।
कार्यक्रममा बागमति प्रदेश सांसद साथै पुर्व मन्त्री शैलेन्द्र बज्राचार्य, बागमति प्रदेश सांसद साथै वित्त समिति सभापति नुरज बज्राचार्य,नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका उप कुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य लगायतको उपस्थिती रहेको थियो ।
शैक्षिक क्षेत्रमा सफलता हासिल गरेका विद्यार्थी साथै बौद्ध धर्मको प्रवद्र्धनमा योगदान दिने ब्यक्तिहरुको सम्मानको लागि भन्दै सन् २०१९ बाट बज्राचार्य क्लबले वर्ल्ड बज्राचार्य अवार्डको सुरुवात गरेको थियो ।
Categorized in समाज