arin enterprises

कामपाले सांस्कृतिक अतिक्रमण गरेको भन्दै बालाजुबासी विरोधमा

SamacharDesk – बिराज | २०८० श्रावण १४, आइतबार

बालाजु बाइसधारा संरक्षण संघर्ष समितिलाई काठमाडौं महानगरपालिकाले छलफलको लागि बोलाएको छ । बालाजु बाइसधारामा सांस्कृतिक अतिक्रमण भएको भन्दै शनिबार विरोध प्रदर्शन भएपछि महानगरले समितिलाई छलफलको बोलाएको हो ।

यस अघि हिजो शनिबार समितिले बालाजु बाइसधारामा काठमाडौं महानगरले सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार गरेको भन्दै बाजाजु उद्यानको प्रवेश द्वारमै प्लेकार्डसहित धर्ना दिँदै विरोध प्रदर्शन गरेका थिए ।

बालाजु बाइसधारास्थित धार्मिक महत्व बोकेको मन्दिर तथा संस्कृतिसंग जोडिएको सत्तलमाथि काठमाडौँ महानगरले सांस्कृतिक अतिक्रमण र भ्रष्टाचार गरेको स्थानीयको आरोप छ ।

महानगरले संचालन गरेको उद्यानले पुर्खाले चलाउँदै आएको धर्म, सस्कृति माथि ठाडो हस्तछेप गरेको स्थानीय वासिन्दा साथै सामाजिक अभियन्ता रविन्द्र कुमार श्रेष्ठले दाबी गरे ।

‘पहिला मन्दिर, सत्तल जाँदा पार्क भएर जान पर्दैन थियो । हाल पार्क भएरै धार्मिक स्थल जान स्थानीयलाइ बाध्य गरिएको छ । पार्कले साँझ ६ बजेपछि गेटमा ताला मारिदिँदा यहाँको धर्म सस्कृति अतिक्रमणमा परेको छ’ अभियन्ता श्रेष्ठले भने ।

काठमाडौं महानगरपालिकाको अस्तित्व हुनु भन्दा अगाडि नै बालाजु बाइसधारामा रहेको शितलामाइ मन्दिर र रत्नचुडेश्वर मन्दिर क्षेत्रको छुट्टै प्रवेशद्वार रहेकोमा अहिले बन्द गर्दै, पुजाआजा गर्न आउने भक्तजनहरुलाई पनि टिकट काट्नु पर्ने अवस्था सिर्जना गरेकोमा स्थानीयको गुनासो रहेको छ ।

त्यस्तै शितलामाइको सामुदायिक ट्रष्ट माथि पनि काठमाडौं महानगरले अतिक्रमण गरेको र यसै कारण परापुर्वकाल देखि चल्दै आएको धार्मिक तथा सांस्कृतिक कार्यमा बाधाअड्चन खडा भएको पनि स्थानीयले जनाएका छन् ।

महानगर प्रमुख बालेन्द्र साहलाइ उनकै सचिवालयमार्फत अवगत गराउँदा पनि भेट्नलाई समयसम्म पनि नदिएको गुनासो श्रेष्ठले गरे । धर्म संस्कृति जोगाउने जिम्मा पाएको महानगर नै अतिक्रमणमा उत्रेपछि शान्तिपूर्ण आन्दोलन स्वरूपपा पहिलो चरणमा धर्ना बसेको श्रेष्ठले बताए ।

यसै बीच समितिले प्रेश विज्ञप्ती जारी गर्दै बालाजु बाइसधारा मेलाम पनि बिना छलफल कहिले महानगरका कर्मचारी, त कहिले वडा अध्यक्षलाई संयोजक बनाइ हस्तक्षेप गर्दै आएको जनाएको छ ।

जात्रा,पर्वको लागि आएको बजेट संगठित रुपमा हिनामिना गरेको आरोप समेत समितिले लगाएको छ । यसै बिषयमा कामपाका सम्बन्धित सबै निकाय/तहलाई सयौंको संख्यामा स्थानीयले हस्ताक्षर गरेर निवेदन दिँदा पनि केही कारवाही नभएकोप्रति पनि समितिले ध्यानाकर्षण गराएको छ ।

विज्ञप्तीमार्फत समितिले बालाजु बाइसधारा उद्यान बनाउन जग्गा, श्रमदान गर्ने स्थानीयवासीहरुको मर्म विपरित साझ ६ः३० बजे नै उद्यानको प्रवेश द्वार बन्द गर्ने गरेको भन्दै उक्त गलत निर्णय सच्चाउनको लागि पनि समितिले ध्यानाकर्षण गराएको छ ।

प्राचीन स्मारक ऐन, पुरातत्व सम्बन्धी ऐनलाई बेवास्ता गर्दै, स्थानीयहरुको विरोधको वाबजुद सयौं बर्ष पुरानो पोखरीहरुमा सिमेन्टले ढलान गर्ने गरेको भन्दै सम्पदा माथि गैरकानुनी कार्य सच्याउन र बालाजु बाइसधारा उद्यानको स्तरोन्नती गर्न पनि समितिले माग गरेको छ ।

भोलि समितिको समीक्षा वैठक लगत्तै छलफल समिति गठन गरेर आफ्ना मागहरु राख्ने समितिले जनाएको छ । 

Categorized in समाज