arin enterprises

बाइसधारा मेलामा भक्तजनको घुइँचो

SamacharDesk – Ram Dangol | २०७९ चैत्र २३, बिहिबार

ऐतिहासिक महत्व बोकेको काठमाडौंको बाइस धारामा आज मेला लागेको छ।

यस दिनदेखि वैशाख स्नान प्रारम्भ हुन्छ । चैत्र शुक्ल पूर्णिमाका दिन यहाँ हरेक वर्ष मेला लाग्ने गरेको हो। यस दिनलाई नेवार समुदायले ल्हुतिपुन्हिको रुपमा मनाउँदै आएको छ।

बाइस धारामा स्नान गरे मुक्तिनाथ र गोसाईगुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास छ। स्नानका लागि बालबालिकादेखि वृद्धवृद्धाहरूको  बिहानैदेखि घुइँचो लागेको छ।

यसदिन मन्नादेवीको जन्म भएकाले महिलाले बाइस धारामा नुहाइधुवाइ गरेमा फलिफाप हुने जनविश्वास  छ। बाइसधारा धाराको मुहान नुवाकोट पर्वतँग जोडिएको बताइन्छ । देवीघाटको पानी यहाँ आउने र सो पानीले नुहाएमा अनेकौ चर्मरोग निको हुने जनविश्वास रहेको छ ।

किवंदन्ती अनुसार राजा प्रताप मल्ल बूढानीलकण्ठको नारायण मूर्तिलाई त्यहाँबाट हनुमानढोका दरबार लगी चोकमा राख्न एवं प्रतिष्ठापन गर्न चाहन्थे। यत्तिकैमा राजालाई सपनामा यो मूर्ति यहाँबाट कहीँ नलग्नु, स्थानान्तरण नगर्नु र तिमी र तिम्रा उत्तराधिकारीहरूले यो मूर्तिको दर्शन पनि नगर्नु, गरेमा अनिष्ठ हुनेछ भन्ने किंवदन्ती छ।

यसैले उनले बालाजुमा र हनुमानढोका दरबार परिसरमा बूढानीलकण्ठको प्रतिमूर्ति बनाउन लगाएका थिए। राजा प्रताप मल्लले सन् १६६० मा सानो बाल बूढानीलकण्ठ स्थापना गरेपछि जसको नामबाट सो स्थानको नाम बालाजु रहन गएको बताइन्छ ।

यहाँ नै नेपाल संवत् ८७५मा कान्तिपुरका राजा जयप्रकाश मल्लले २१ वटा ढुङ्गेधारा स्थापना गराएका थिए। पछि वि.सं. १८५५मा राजा रणबहादुर शाहले थप एउटा ठूलो ढुङ्गेधारा स्थापना गरी बाइसधाराको नामले प्रख्यात रहन गएको हो भने इतिहासमा उल्लेख छ। 

Categorized in संस्कृति