मेयर बालेन्द्र शाहले दिए प्रष्टीकरण
SamacharDesk | २०८० भाद्र १७, आइतबार

काठमाडौंका मेयर बालेन शाहले शनिबार साँझ भएको घटनाबारे प्रष्टीकरण दिएका छन् ।
आइतबार मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएका हुन् । शनिबार साँझ मेयर पत्नी चढेको सरकारी गाडी रोकेपछि आक्रोशित मेयर बालेन शाहले एक स्टाटस पोष्ट गरेका थिए ।
स्टाटसमा भनिएको थियो, “आजको लागी केहि भएन, भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने, सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”
प्रमुख बालेन्द्र साहले सिंहदरवार आगो लगाई दिने स्टाटसमार्फत धम्की दिएपछि यसको सर्वत्र विरोध भएको छ । समाजिक सञ्जाल प्रयोगकर्तासँगै सुरक्षा निकायका अधिकारीहरुले पनि प्रमुख बालेनको अभिव्यक्तिप्रति दुःख व्यक्त गरेका छन् ।
लोकतन्त्रमा यस किसिमको धम्की, अभिव्यक्ति सह्य नहुने, लोकतान्त्रिक समाजमा हिंसा स्वीकार नहुने, कानुनको दायरमा ल्याउनु पर्ने, आक्रोको कारण के, ट्राफिकको नियमित चेक जाँचमा किन यति आक्रोश लगायत थुप्रै आलोचनात्मक टिप्पणीहरु यतिखेर समाजिक सञ्जालमा लेखिएका छन् ।
सो घटनाको प्रष्टीकरण दिंदै बालेनको सचिवालयले सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिकले रोक्दा उक्त परमिट गाडीमा नभएको स्वीकारेको छ।
बालेन पत्नी काफ्ले सुत्केरी भएको र एनआइसियूमा रहेको बच्चालाई स्तनपान गराउन अस्पताल गएको विज्ञप्तिमा उल्लेख छ। ‘शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए।
त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए ।
सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे,’ विज्ञप्तिमा भनिएको छ,‘ नगर प्रमुख सहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’ विज्ञप्तिमा भनिएको छ ।
सिंहदरबार जलाईदिने स्टाटसका विषयमा भने मौन बसेका छन् ।
