arin enterprises

थाइल्याण्डको ‘इन्टरनेसनल बेलुन फियस्ता’मा नेपालबाट बेलुन नेपालको सहभागीता

SamacharDesk – बिराज | २०८० फाल्गुण ७, सोमबार

हट एयर बेलुन उडाउँदै आएको नेपालको एक मात्र कम्पनी बेलुन नेपालले थाइल्याण्डमा सम्पन्न ’इन्टरनेसनल बेलुन फियस्ता २०२४’ मा सहभागीता जनाएको छ ।

गत बुधबारदेखि थाइल्याण्डको सबैभन्दा चिसो शहर च्याङराईमा आयोजना भएको पाँच दिने फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै बेलुन नेपालका अध्यक्ष बिक्रम बाडे र निर्देशक बि बि ढकाल सहभागी भएका हुन् ।

कार्यक्रममा २० व्यवसायिक तथा ६० वटा मिनी सहित ८० वटा बेलुन उडाइएको थियो । जसमा नेपालको बेलुन नेपालसहित १२ वटा मुलुकका बेलुन कम्पनीको सहभागीता रहेको थियो ।

कार्यक्रममा विभिन्न बेलुनमा २० वटा मुलुकको राष्ट्रिय झण्डा फहराइएको थियो, जसमध्ये एउटा बेलुनमा नेपालको राष्ट्रिय झण्डा फहराइएको निर्देशक ढकालले जानकारी दिए ।

‘मुलुकको प्रवर्ध्दनका लागि यस्तो कार्यक्रम निकै राम्रो हुने रहेछ । नेपालमा पनि बेलुन छ भन्ने जानकारी दिन पाउनु खुशीको कुरा हो’ ढकालको भनाई हो ।

आइतबार सम्पन्न कार्यक्रममा हरेक दिन विभिन्न किसिमका प्रतियोगितात्मक खेल आयोजना भएको थियो । जसको पर्यवेक्षकको रुपमा बेलुन नेपालले सहभागीता जनाएको कम्पनीका निर्देशक ढकालले जानकारी दिए ।

कार्यक्रम अवधिमा खटिएका पाइलट र बेलुन क्रूको सम्मानमा आइतबार साँझ बेलुन नेपालको संयोजनमा रात्री भोज सहित ’नेपाली नाइट’ आयोजना गरिएको थियो ।

सो अवसरमा पाइलट र क्रूहरुलाई नेपाली ढाका टोपी र खादाले सम्मान गर्दै बुद्धको प्रतिमा उपहार दिइएको थियो ।

कार्यक्रममा नेपालको लुम्बिनी र सिद्धार्थ गौतमबारे जानकारी दिएको समेत ढकालले बताए ।

‘धेरैमा बुद्ध इण्डियामा जन्मिएको भ्रम थियो तर यो फेस्टमा डेढ लाख जनासम्म त्यहाँ कन्सर्टमा सहभागी थिए त्यहाँ लुम्बिनी नेपालको र बुद्धको जन्म नेपालमा भएको जानकारी दिन पायौं’ ढकालले बताए ।

साथै नेपालमा पनि यस्तै किसिमका कार्यक्रम राखेर विभिन्न मुलुकका पर्यटकहरू सहभागी गराउने सोचमा रहेको पनि उनको भनाई हो ।

थाइल्याण्डको फ्लाइङ मिडियाले आयोजना गरेको कार्यक्रममा स्थानीय सांस्कृतिक प्रस्तुति समेत समावेश थियो ।

कार्यक्रमको पाँच दिन अवधिमा कुल १० लाख जनाले अवलोकन गरेका थिए ।

Categorized in बिजनेस