बैंक खाता ह्याक गरी लाखौं ठगी
SamacharDesk | २०७९ माघ २१, शनिबार
‘नेपाली गर्ल’ नामक एपको प्रयोग गरी व्यक्तिको बैंक खाता ह्याक गरी रकम चोरी गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेका छन् ।
आठ जनाको गिरोहले उक्त एप बनाएर एपमार्फत् सम्पूर्ण बैंकको विवरण लिएर रकम चोरी गर्ने गरेको पाइएको छ । अहिलेसम्म उनीहरुले एपमार्फत् ५० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरिसकेका छन् ।
पक्राउ परेका आठ जनाको गिरोहलाई हिजो जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलनमार्पmत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेहरूमा भारतको बिहार प्रदेश सितामढी जिल्ला मधुरापुर–७ बाजपट्टी थानाका २९ वर्षीय अवधेश कुमार, सप्तरीको कृष्णासवरन गाउँपालिका–२ का ३४ वर्षीय दिलिप कुमार चौधरी, पर्साको बिन्दावासिनी–८ का ३३ वर्षीय अजय चौधरी भनिने नगेन्द्र साह कानु, रौतहटको रंगपुर नगरपालिका–१ का २७ वर्षीया रविना चौधरी, बाराको कोल्हवी नगरपालिका–४ का सन्तोष कुँवर, पर्साको वीरगञ्ज महानगरपालिका–२५ का २८ वर्षीय राजु पटेल, सोही ठाउँका २० वर्षीय साहिल परबेज र सोही ठाउँका १९ वर्षीय शिवशंकर राउत छन् ।
उनीहरूले विभिन्न व्यक्तिको ह्वाट्सपमा एपको लिंक पठाउने डाउनलोड गर्न अनुरोध गर्दै आएको प्रहरीले जनाएको छ । उनीहरुले हरिप्रसाद ढकालको एनआईसी एसियामा बैंकमा रहेको खाताको मोबाइल बैंकिङबाट गत मंसिर २५ गते र २६ गते ह्याक गरी ४ लाख रुपैयाँ निकालिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।
ठगिएको भन्दै उजुरी परेपछि परिसर ललितपुरले अनुसन्धान अघि बढाएको थियो । पक्राउ परेकाहरुलाई बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
Categorized in अपराध