arin enterprises

वाणिज्य बैंकहरु धमाधम मर्ज हुँदै

SamacharDesk | २०७९ पौष २७, बुधबार

वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै धमाधम मर्जमा जाने क्रम तीब्र भएको छ ।

गत शनिवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएर ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु भइसकेको छ ।

यस्तै नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्ज प्रक्रिया पूरा भएर बुधबारदेखि एकीकृत कारोबार शुरु गरेका छन् । मर्जपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार शुरु गरेका हुन । नेपाल इन्भेष्टमेन्ट बैंकको एक सय कित्ता सेयर बराबर मेगाको ९० कित्ताको अनुपातमा यी दुई बैंक एक भएका हुन ।

मर्जपछि पनि इन्भेष्टमेन्ट बैंकका पृथ्वीबहादुर पाण्डे नै अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पनि सोही बैंकका ज्योतिप्रकाश पाण्डे रहेका छन् ।

दुई बैंक एक भएपछि चुक्ता पुँजी ३२ अर्ब रुपैयाँ पुगेको छ भने कुल पुँजी ५८ अर्ब पुगेको छ । यस्तै कुल निक्षेप तीन खर्ब ६० अर्ब र कुल कर्जा प्रवाह ३ खर्ब २९ अर्ब रुपैयाँ रहेको छ ।

देशभर २९६ वटा शाखा रहेको यो बैंकको ग्राहक संख्या ३० लाख रहेको जनाइएको छ । यसै महिना मर्जर पूरा गरी एकीकृत कारोबार सुरु गर्ने यो चौथो बैंक हो । राष्ट्रबैंकको नीति अनुसार मर्जर प्रक्रियाका लागि यसै महिना मात्रै आठ वटा वाणिज्य बैंक मर्ज भएर चार वटामा झर्ने भएका छन् ।

मर्जरकै क्रममा प्रभु र सेञ्चुरी बैंक एक भएर कारोबार शुरु गर्दैछन् । प्रभु र सेञ्चुरी बैंकको मर्जरपछि प्रभु बैंककै नामबाट कारोबार शुरु गरेका हुन ।

यी दुई बैंक मर्जपछि चुक्ता पूंजी २३ अर्ब पुगेको छ भने कुल निक्षेप २ खर्ब ८४ अर्ब र कर्जा प्रवाह २ खर्ब ५३ अर्ब रहेको छ । ३० लाख ग्राहक संख्या रहने बैंकका ३६५ वटा शाखा रहने छन् ।

हिमालयन बैंक र सिभिल बैंक पनि मर्ज प्रक्रिया पूरा गरी एकीकृत कारोबार गर्ने तयारीमा छन् । यसअघि नबिल र एनबीबी तथा कुमारी र एनसीसी मर्ज भईसकेका छन् ।

लक्ष्मी बैंक र सनराइज बैंकबीच पनि मर्ज हुने सहमति भएको छ ।

Categorized in बिजनेस