बालेन्द्र साहप्रति सांसदहरु आक्रोसित
SamacharDesk | २०८० फाल्गुण १८, शुक्रबार

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति प्रतिनिधिसभा सदस्यहरुले आक्रोश व्यक्त गरेका छन् ।
बुधबार भएको काठमाडौं महानगर र फुटपाथ व्यापारीबीच भएको झडपलाई ईंगित गर्दै सांसद अमरेशकुमार सिंह प्रमुख शाहप्रति आक्रोस व्यक्त गरेका हुन् ।
उनले फुटपाथ व्यापारीहरुलाई त्रसित नगराउन प्रमुख साहलाई चेतावनी समेत दिनुभएको छ । शुक्रवार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले काठमाडौंले मधेसका मान्छेका कारण फल र तरकारी खान पाइरहेको भएपनि मधेसका मान्छेहरुलाई अपमान गरिएको बताउनु भयो ।
उहाँले करमा दर्ता गरेर कवाडी व्यवसाय सञ्चालन गर्दा पनि अपमान गरिएको भन्दै सरकारसँग असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले काठमाडौं संघीय राजधानी भएको भन्दै यहाँ संविधान प्रदत्त अधिकारको उपभोग गर्दै सबैले बस्न पाउने बताउनु भयो ।
उहाँले श्रमिक वर्गलाई अपमान गरिए काठमाडौं कुनैदिन संघर्षको मैदान बन्ने भन्दै संघ सरकार र महानगरपालिकाको नियन्त्रणमा नरहने बताउनु भयो ।
त्यस्तै नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यापारीमाथि ज्यादती गरेको भन्दै संघीय सरकारले हस्तक्षेप गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले काठमाडौं महानगरपालिकाको प्रहरीले फुटपाथ व्यापारीमाथि गरेको ज्यादती अत्यन्त निन्दनीय भएको बताउनु भयो ।
उहाँले यस्तो काम गर्दा आवश्यकता परे संघीय सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने बताउनु भयो । उहाँले मिटरब्याज पीडित, लघुवित्त पीडित र सहकारी पीडितहरुको समस्या समाधान गर्न सरकारलाई आग्रह गर्नुभयो । त्यस्तै दुग्ध किसानहरुको रकम भुक्तानी गर्न पनि माग गर्नुभयो ।
गत बुधबार काठमाडौं महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप भएको थियो । निर्धारित समय भन्दा पनि २ घण्टा अघिदेखि नै पसल थापेको भन्दै नगर प्रहरीले हटाउन खोजेपछि उनीहरुबीच झडप भएको हो ।
उनीहरुले महानगर प्रहरीका डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित महानगर प्रहरीहरुले बुधबार बेलुका ८ बजे सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरुलाई आक्रमण गरि घाइते बनाएको दाबी गरेको छ ।
महानगर प्रहरीले आक्रमण गरी सामान समेत लुटपाट गरेको आराप महानगरमाथि लगाएको छ ।
Categorized in राष्ट्रिय