बार्सिलोना बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन १०, बुधबार
स्पेनिस लालिगामा बार्सिलोना बराबरीमा रोकिएको छ । मंगलबार राति बार्सिलोनाले मालोर्कासँग २–२ गोलको बराबरी खेलेको हो ।
खेलमा दुई पटक पछि परेको अवस्थालाई उल्ट्याउँदै बार्सिलोना हारवाट जोगिन सफल भएको थियो ।
खेलको आठौं मिनेटमा नै बार्सिलोनाका किपर मार्क आन्द्रे टेर स्टेगनको गल्तीको फाइदा उठाउँदै वेदात मुरीकीले घरेलु टोली मालोर्कालाई सुरुआती अग्रता दिलाएका थिए ।
राफिन्हाले ४१ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याउने काम गरे । पहिलो हाफको इन्जुरी समयमा एबडनको गोलमा पुन मालोर्काले खेलमा अग्रता लिएको थियो ।
७५ औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई हारवाट जोगाए । राफिन्हाको स्थानमा मैदान छिरेका २० वर्षका स्पेनिस मिडफिल्डर लोपेजले गोल गर्दै बार्सिलोनाको लागि पहिलो गोल गरेका हुन् ।
योसँगै बार्सिलोनाले यस सिजन आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।
शीर्ष स्थानको बार्साले ला लिगाका ७ खेलमा ५ मा जित र २ मा बराबरीको नतिजा निकाल्दै १७ अंक जोडेको छ ।
मालोर्का ६ अंक सहित १५ औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स