arin enterprises

बायर्न म्युनिखलाई बुन्डेसलिगा उपाधि ट्रफी

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ९, आइतबार

जर्मन बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले सिजनको आफ्नो अन्तिम खेलमा सान्दार जित निकालेको छ ।

शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले अग्स्बर्गलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्की, सेर्जी जिनाब्री, जोसुवा किमिच र किग्सले कोम्यानले एक एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

उक्त खेलको नवौं मिनेटमा जेफ्रीले आत्मघाती गोल गरेपछि बायर्नले १–० को अग्रता बनाएको थियो ।

खेलको २३ औं मिनेटमा जिनाब्रीले, ३३ औं मिनेटमा किमिचले, ४३ औं मिनेटमा कोम्यानले गोल गरेपछि बायर्न पहिलो हाफमा ४–० ले अघि रह्यो ।

यस्तै खेलको २५ औं मिनेटमा अग्स्बर्गका डानिलको पेनाल्टी प्रहार बायर्नका गोलकिपर नुयरले बचाए ।

खेलको ६७ औं मिनेटमा अग्स्बर्गका आन्द्रेले गोल गर्दै खेल ४–१ मा ल्याए । ७२ औं मिनेटमा फ्लोरिनले गोल गरेपछि खेल ४–२ को स्थितिमा पुग्यो ।

त्यसपछि ९० औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ५–२ को जित दिलाए । यो गोलसँगै लेवान्डोस्कीले जारी सिजन ४१ औं गोल पूरा गरेका छन् ।

आफ्नो अन्तिम खेलमा जित निकालेसँगै बायर्नले सिजनको सुखद अन्त्य गर्दै बुन्डेसलिगा उपाधि ट्रफी प्राप्त गरेको छ  ।

यस सिजन उपाधि जित्ने क्रममा बायर्नले ३४ खेलमा ७८ अंक जोड्यो ।

 

 

Categorized in स्पाेर्ट्स