arin enterprises

काठमाडौंमा पार्किङ गर्न होस पुर्‍याउनु, कारवाहीमा परिएला

SamacharDesk – बिकाश | २०७७ मङ्सिर ४, बिहिबार

काठमाडौँ महानगरपालिका क्षेत्र भित्र आज एकै दिन ‘नो पार्किङ’ र फुटपाथमा जथाभावी राखिएका ३० वटा मोटरसाइकल र स्कुटर कारबाहीमा परेका छन् ।

काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरीले जथाभावी पार्किङ गरिएका ती मोटरसाइकल तथा स्कुटरलाई कारवाही गरेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले लकडाउन खुलेसँगै काठमाडौँमा भिडभाड बढेको अवस्थामा जथाभावी पार्किङ गर्दा भिडभाड झन बढेर कोरोना संक्रमण फैलिन सक्ने खतरालाई ध्यान दिदैँ आजबाट अभियान सुरु गरेको जानकारी दिनुभयो ।

प्रहरी वरिष्ठ उपरीक्षक ढकालले दशैँ, तिहार, छठ जस्ता पर्वपछि अझ भिडभाड बढ्न सक्ने कुरालाई समेत ध्यानमा राखी उक्त अभियानलाई थप प्रभावकारी ढंगले अघि बढाउन चाहेको बताउनुभयो ।

दुई वटा टीम परिचालन गरी ‘नो पार्किङ एरिया’ र फूटपाथमा जथाभावी पार्किङ गरिएका मोटरसाइकल तथा स्कुटरलाई उठाएर कारवाही सुरु गरेको कामपा नगर प्रहरी प्रमुख धनपति सापकोटाले बताउनुभयो ।

जथाभावि पार्किङ गर्नेलाई कागजपत्र हेरेर एक हजार रुपैयाँ जरिवना तिराउने गरिएको छ ।

Categorized in स्थानीय