arin enterprises

ट्राफिक लाइटको कारणले सिंहदरबारको मुल गेटको स्वरुप फेरियो

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ श्रावण १०, शनिबार

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारको मूल गेटको स्वरुप फेरीएको छ । विगतका दिनमा लटरम्म झार र लेउका कारण कुरुप देखिरहेको उक्त गेट अहिले नयाँ स्वरुप पाइ मुस्कुराइरहेको छ ।

दिनहुँ प्रधानमन्त्रीदेखि मन्त्री र उच्च पदस्थ व्यक्तिहरुको ओहोर दोहोर भइरहने यस सिंहदरवारको गेटको झार र लेउमा कसैको ध्यानै गइरहेको थिएन ।

अचानक यो कसरी सफा भएछ ? यो गेटलाई कुरुप बनाइरहेको झार र लेउमा कसको ध्यान गएछत भन्ने कुरा भने रोचक छ ।  

बिहीबार दिउँसो काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सह–सचिव राजेश्वर ज्ञवाली भन्द्रकालीबाट सिंहदरबारको मुल गेट हुँदै कामको शिलसिलामा पुल्चोक जादैँ हुनुहुन्थ्यो । 

प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको मुल गेट नजिकै बलेको रातो ट्राफिक लाइटले सहसचिव ज्ञवालीले ड्राइभ गरिरहेको गाडी टक्क रोकियो । 

त्यसैबेला ज्ञवालीका आँखा दैनिक दजर्नौ झण्डावाल र सेतो प्लेटका सवारीमा ओहोर–दोहोर गर्ने सिंहदरवारको कुरुप गेटमा ठोकिए ।

गाडी हाँकिरहेका ज्ञवालीले प्रधानमन्त्रीदेखि, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु दैनिक ओहोर–दोहोर गर्ने सिंहदरबारको मूल गेटनै झारले ढम्म ढाकेको र भूँईभरी लेउ देखे ।

यी झार र लेउ काठमाडौँ महानगरपालिकाले नै सफा गर्दा हुन्छ होला नि भन्दै अधिकृत अर्याल र सचिव ज्ञवालीबीच त्यहिँ गाडीमै छलफल भयो र त्यहिँ महानगरपालिकाले नै सो गेट सफा गर्ने निर्णय गरे ।

कार्यालय गई अधिकृत अर्यालले सो निर्णय नगर प्रहरी प्रमुख धनपति सापकोटालाई सुनाए र सापकोटासहितको टोली खटेर सिंहदरवारको गेट सरसफाइ भयो ।

निर्देशन लगत्तै वातावरण व्यवस्थापन बिभागका करीब ४० जनशक्तिले सिंहदरबारको मुल गेट अगाडीको भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगाल सफाइ गर्ने काम गरे । 

सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेशन पठाइयो । त्यहाँ जेटको प्रयोग गरेर पखाल्ने काम भयो । त्यसपछि सिंहदरबारको मुलढोका एकैछिनमा सुन्दर देखियो ।

ज्ञवालीले सहरको सौदर्य बढाउने हो भने यस्ता सामान्य कुरामा पनि ध्यान दिनुपर्ने बताउनुभयो । 

यहाँका सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदा सूचिमा सूचिकृत स्थानहरुमा पनि सरसफाई अभियानलाई निरन्तरता दिनुपर्ने बताउँदै सरसफाई अभियानलाई निरन्तरता दिन महानगरपालिका तयार रहेको उहाँले बताउनुभयो ।

Categorized in स्थानीय