arin enterprises

सर्वसाधारणलाई आज भोटो देखाईँदै

SamacharDesk | २०७९ जेठ २१, शनिबार

वर्षा र सहकालका देवता तथा ललितपुर उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदैछ।

आज गुठी संस्थानका प्रमुखबाट  राष्ट्रपति विद्यादेवी भण्डारीलगायत राज्यका उच्च पदस्थ व्यक्तिहरूको उपस्थितिमा सर्वसाधारणलाई भोटो देखाउने छन् ।

बुधबार ललितपुरको लगनखेलदेखि रथलाई तानेर जावलाखेल पुर्याएसँगै यो वर्षको मच्छिन्द्रनाथको रथ जात्रा समापन भएको थियो । जावलाखेल पु¥याएको चार दिनपछि भोटो जात्रा गर्ने प्रचलन रहेको छ । 

संस्कृतिविद्हरुका अनुसार करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथ जात्रा खेतीकिसानीसँग सम्बन्धित छ। विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन्।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ। हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।

अर्काे लोकोक्ति अनुसार धेरै पहिले एकजना नेवार कृषकले नागराज कर्कोटककी पत्नीको आँखा ठीक गरेबाट भोटो उपहार पाएका हुन्छन । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् ।

उक्त भोटो लगाएका मान्छे र कृषक बीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ ।

त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ ।

जावलाखेलमा भोटो देखाएपछि रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङमती पुर्याइन्छ। रातो मच्छिन्द्रनाथको रथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ।

जात्रा सकिएर बुङमती पुर्याइएको रथ छ महिनासम्म त्यहीँ राखेर साइतअनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ।

Categorized in संस्कृति