arin enterprises

गाँजा सेवनको विषयमा विवाद भएपछि हत्या

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ १८, आइतबार

दाङमा गाँजा सेवनको विषयमा विवाद हुँदा एक युवाको हत्या भएको छ ।

समूहमा बसेर मदिरा सेवन गर्दै गर्दा गाँजा खाने विषयमा विवाद हुँदा चारजनाले २९ वर्षीय मन्दिप भुजको हत्या गरेका हुन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरले आज पत्रकार सम्मेलन गर्दै भुजको हत्या गर्ने चार जनालाई सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख हरिहरनाथ योगीले मदिरा सेवन गर्दै गरेको समयमा भुजले गाँजा खान थालेपछि भएको विवादका कारण चारजनाले मिलेर हत्या गरिदिएको बताए । 

शनिबार राति तुलसीपुरको अटो भिलेजस्थित चौधरी होटेलमा सँगै बसेर घरेलु मदिरा सेवन गर्ने क्रममा भुजले गाँजा सेवन गर्न थालेका थिए ।

त्यसै क्रममा छुट्टै टेबुलमा बसेर मदिरा सेवन गरिरहेका अर्घाखाँची जिल्लाको ढिकपुरा वडा नं. ४ घर भइ हाल तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ निवासी सौरभ पोखरेल र भूजको बीचमा विवाद भएको थियो ।

होटलबाट निस्केर बाटोमा पनि त्यही विषयमा विवाद चर्किँदै गएपछि तुलसीपुर ५ स्थित ज्ञानज्योति आधारभूत विद्यालय नजिकै पोखरेलले भुजको टाउकोमा ढुङ्गाले हानिदिएका थिए ।

त्यसैक्रममा झगडा रोक्नुको साटो तुलसीपुर–५ निवासी अजय बुढाथोकी, आशिष नेपाली, तुलसीपुर १८ का ओमबहादुर सार्कीले पनि भुजलाई कुटपिट गर्न थाले । 

त्यसपछि त्यहिँ मृत्यु भएका भुजको शवको साथमा हत्या गर्न प्रयोग गरिएको ढुङ्गा चारै जनाले घटनास्थलभन्दा ४० मिटर पर पातुखोलाको बगरमा बालुवाले छोपेर लुकाइ दिएको थिए ।

भुजको शव फेला परेपछि प्रहरीले ६ घन्टाकै अन्तरालमा सबै आरोपितहरुलाई नियन्त्रणमा लिन सफल भएको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले पत्रकार सम्मेलनमा जानकारी दिए । 

हत्यामा प्रयोग भएको त्यो ढुङ्गा पनि प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ परेका चारै जनाविरुद्ध ज्यान मुद्दा चलाउने उनले बताए ।

Categorized in अपराध