arin enterprises

‘उपत्यका आवत–जावतमा थप कडाई गरौँ’-मेयर शाक्य

SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख ३१, बुधबार

सर्लाहीको मलङ्गवाबाट एउटा सरकारी गाडी काठमाडौं २३ वडा ओमबहाल आइपुग्यो । उक्त गाडीमा एक महिला आफ्नो छोरा र छोरी सहित ओर्लिइन् । स्थानीयले सोधपुछ गर्दा उतातिर जोखिम बढेकोले सरकारी गाडीबाटै काठमाडौं आएको बताए ।

प्रदेश २ अन्तर्गत सामाजिक विकास मन्त्रालयको बा २ झ २४१३ नम्बरको गाडीबाट आएका उनीहरु ओमबहालमा नातेदारको डेरामा बस्न आएका थिए । स्थानीयले विरोध गरेपछि उनीहरु त्यहाँबाट वडा–२२ को वटु टोलमा बस्न गए । 

टोलबासीबाट निरन्तर विरोध भएपछि काठमाडौं महानगरपालिका वडा–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनको समन्वयमा उनीहरुलाई जिल्लामै फर्काइयो । महानगरीय प्रहरी वृत्त जनसेवाका डीएसपी सुनिलजंङ शाहले जनप्रतिनिधिको समन्वयमा उनीहरुलाई आएकै जिल्लातर्फ सकुसल फिर्ता पठाएको जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिककै वडा–१८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले आफ्नो घर बहालमा बस्ने र भर्खरै उपत्यका बाहिरबाट आउने व्यक्तिलाई कम्तीमा ८ दिन क्वारेण्टाइनमा बस्नलगाई आरडीटी परीक्षणपछि मात्रै प्रवेश गर्न र त्यसलाई परिपालना गर्न गराउन आग्रह गरेको सूचना सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभयो । 

काठमाडौँ महानगरपालिककै वडा–२ का अध्यक्ष राजेन्द्र श्रेष्ठले पनि कामपा वडा न.२ लाजिम्पाटका विभिन्न स्थानमा उपत्यका बाहिरबाट आएकाहरुलाई सचेत गराउँदै सुरक्षित रहन आग्रह गरेको भिडियो नै सार्वजनिक गर्नुभयो ।  

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनको अवज्ञा गर्दै उपत्यकाबाट बाहिरिएका नागरिक कतिपय शक्तिको आडमा वा लुकिछिपी पुनः भित्रिन थालेका छन् भन्ने तथ्य माथिका सन्दर्भबाट पनि प्रष्ट हुन्छ । 

कतिपय नागरिक त विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्सबाट पनि उपत्यका भित्रिने गरेका छन् । 

उपत्यकामा एकै दिन तीन जना संक्रमित फेला परेपछि उपत्यकाबासीलाई अझ नराम्ररी झस्काई दिएको छ । 

उपत्यकाभित्रै एकैपल्ट तीन जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै यहाँ जोखिमको स्थिती रहेको प्रमाणित भएको धारणा उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले राख्नुभयो ।

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनको पूर्ण पालना नभएका कारण जोखिमको खतरा बढेको कामपा प्रमुख शाक्यको भनाई छ ।

‘यस्तो अवस्था आउन सक्ने आँकलनसहित उपत्यकाका नगरपालिका फोरमले कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहनुभएका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेटी उपत्यका भित्र निर्वाध आवत–जावतलाई कडाई गर्नुपर्ने माग गरिसकेका थियौँ । तर, कडाइका साथ कार्यान्वयन हुन नसक्दा उपत्यकामा पनि कोरोना संक्रमण फैलिने हो कि भन्ने चिन्ता बढेको छ’ शाक्यको भनाई रहेको छ ।

उहाँले लकडाउनको ठाडो उल्लङ्घन गर्दै जाने हो भने संघीय सरकारले समेत नियन्त्रण गर्न नसक्ने अवस्था सिर्जना हुने भन्दै स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर भएर कडाईका साथ कार्यान्वयनतर्फ केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो । 

‘हामीले सुरुदेखि नै उपत्यकाबाट हुने आवतजावतमा कडाई गर्दै उपत्यकाको चहलपहललाई खुकुलो पार्नुपर्छ भन्दै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘तर, सरकारी गाडी र पासको समेत दुरुपयोग गर्दै निर्वाध रुपमा उपत्यका भित्रिने क्रम नरोकिएको भन्ने जानकारी आएको छ । अब पनि हामी सचेत नहुने हो भने अवस्था नियन्त्रण बाहिर जानसक्छ ।’ 

केही कठिनाईका बीचमा पनि लामो समयदेखि उपत्यकाबासीले लकडाउनको पूर्ण पालना गरेर सहयोग गरेको भन्दै अझै केही समय धैर्य गर्न पनि शाक्यले आग्रह गर्नुभयो । 

‘अझै केही समय तपाईँहरु जहाँ हुनुहुन्छ, त्यहीँ बस्नुहोस् । अहिले काठमाडौं नआउनोस् । यसले महामारी नियन्त्रणमा सहज हुनेछ,’ उहाँले भन्नुभयो, ‘केही व्यक्तिको असहयोगले काठमाडौँ उपत्यका भयावह हुनसक्छ । उपत्यका आवत–जावतलाई कडाई गरौँ । म पुनः संघीय सरकारसँग आग्रह गर्छु ।’

Categorized in स्थानीय