वायोग्यास प्लान्ट पुनः संचालन हुने
SamacharDesk | २०७९ फाल्गुण १४, आइतबार

काठमाडौँ महानगरपालिकाले टेकूमा अवस्थित वायोग्यास प्लान पुनः सुचारु गर्ने भएको छ ।
वर्षाैं बन्द भएको प्लान्ट केपी ओली सरकारको पालामा संचालनमा ल्याए पनि फेरि विगत पाँच वर्षदेखि बन्द रहेको थियो ।
महानगरका अनुसार कुहिने फोहरबाट बिजुली र ग्यास उत्पादन गरी नवीकरणीय ऊर्जा उत्पादन गर्ने तथा कुहिने फोहरको दिगो व्यवस्थापनका लागि यो परियोजना पुनः सञ्चालन गर्ने तयारी गरिएको हो ।
फोहरबाट ऊर्जा उत्पादन गर्ने लक्ष्यसहित युरोपियन युनियन र कामपाको आर्थिक लगानीमा टेकुस्थित वातावरण विभागको परिसरमा जडान गरिएको वायोग्यास प्लान्ट मर्मत गरी पुनः प्रयोगमा ल्याउन लागिएको कामपाले जनाएको छ ।
यसका लागि कामपाले राष्ट्रिय आविष्कार केन्द्रसँग सकारात्मक छलफल भएको छ । प्लान्ट पुनः संचालनका लागि युरोपियन युनियनले रु चार करोड ६० लाख र कामपाले रु एक करोड ८२ लाख लगानी गरेका थिए ।
प्लान्ट सञ्चालनका लागि दक्षजनशक्ति अभावका कारण पाँच वर्षदेखि प्रयोगविहीन हुँदै आएको उक्त प्लान्ट पुनः सञ्चालनमा आएसँगै कामपालाई कुहिने फोहर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
परियोजना संचालनकाका लागि दैनिक तीन मेट्रिकटन जैविक फोहर आवश्यक पर्छ । उक्त परियोजनामा तीन हजार किलो जैविक मल उत्पादन हुनाको साथै १४ किलोवाट बिजुली र १३ हजार पाँचसय लिटर प्रशोधित पानी उत्पादन गर्ने क्षमता छ ।
वि.सं २०७० देखि परीक्षणका रूपमा उक्त परियोजना सञ्चालन गरिएकामा २०७४ सालदेखि आधिकारिक रूपमा सञ्चालन गरिएको थियो ।
Categorized in स्थानीय