नवनिर्वाचित जनप्रतिनिधिहरु सम्मानित
SamacharDesk | २०७९ पौष २६, मंगलबार

का.म.पा. १३ वडा व्यवस्थापन तथा संरक्षण समितिले काठमाडौं क्षेत्र नं. ८ बाट नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभाका जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
समितिका संयोजक दिलबहादुर मानन्धरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट क्षेत्र नं. ८ बाट प्रनिधिसभामा निर्वाचित सांसद विराजभक्त श्रेष्ठले आफू यस क्षेत्रका महिलाहरुको निम्ति आयआर्जनका कार्यक्रम, टंकेश्वरमा सधैं भैरहने ट्राफिक जामको समस्या हटाउन वैज्ञानिक ट्राफिक व्यवस्थापन तथा विष्णुमती कोरिडरको पार्कलाई संरक्षण तथा सम्वद्र्धन गर्न स्थानीय तहका संघसंस्थाहरुसँग सहकार्य गरी लागिपर्ने बताउनुभयो ।
सो कार्यक्रममा बोल्दै क्षेत्र नं. ८ बाट निर्वाचित बाग्मती प्रदेश सांसद शैलेन्द्रमान बज्राचार्यले यस क्षेत्रका युवाहरु, जो भोलिका मतदाताहरु पनि हुन्, उनीहरुलाई विदेश जानबाट रोक्न रोजगारीका योजनाहरु ल्याउन आफू सक्रिय रहने कुरा बताउनुभयो ।
नेपाली कांग्रेसका समानुपातिक तर्फका सांसद सपना राजभण्डारीले वडाका खानेपानी सरसफाइ लगायतका समस्याहरु टीम वर्कको आधारमा समाधान गर्न आफू सक्रिय रहने कुरा बताउनुभयो ।
सबैले वडालाई आफ्नो घर समान सम्झेर कार्य गरे यस १३ वडाका सबै समस्याको हल सजिलै निस्कने उहाँको विचार थियो ।
सो अवसरमा बोल्दै १३ वडाका का.वा. वडा अध्यक्ष रामबाबु कोइरालाले वडाका समस्याहरु पार्टीगत धारणा त्यागी यहींका संघसंस्थाहरुसँग सहकार्य गरी समाधान गर्न आफू तयार रहेकोले सबैलाई सहकार्यको निम्ति आह्वान गर्नुभयो ।
Categorized in स्थानीय