बिस्का जात्रा अन्तर्गत सगुन जात्रा मनाउँदै
SamacharDesk – समाचारडेस्क | २०८० बैशाख ४, सोमबार

नौ दिन आठ रातसम्म मनाउने धार्मिक, सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व बोकेको बिस्का जात्राको ८ औं दिन आज भक्तपुरवासीले द्यः सगं विय्गू (सगुन दिने जात्रा) मनाएका छन् ।
सोमबार बिहानैदेखि धिमे र बाँसुरी बाजा र भजन खलःहरूले नगरका विभिन्न शक्तिपीठ तथा देवीदेवताहरूको परिक्रमा गरी सगुन जात्रा मनाइएको हो ।
देवीदेवताहरूलाई सगुन पूजा गर्न आ–आफ्नो द्यो छें (देव घर)बाट निकाली चोक तथा डबलीमा राखेर आ–आफ्नो गच्छेअनुसार सगुनका रूपमा रक्सी, अण्डा, माछा, अदुवा, चामल, चिउरा, रोटी, बिस्कुटलगायत परिकार चढाउने गरिन्छ ।
बेलुका सबै देवीदेवताहरूमा भक्तजनले चढाएको सगुन, सम्हेबजी टोलका सबैलाई प्रसाद वितरण गरी बाजागाजासहित आ–आफ्नो मन्दिर लैजाने चलन छ ।
स्थानीय महिला तथा पुरुषहरू मौलिक पोसाक हाकु पटासी र दौरा सुरुवालमा सजिएर जात्रामा सहभागी हुन्छन् । नौ दिन आठ रात लामो बिस्का जात्राको यो विशेष दिन पनि हो ।
बिस्का जात्राको क्रममा अरु दिन एउटा टोलमा मात्रै सीमित भएर जात्रा चल्ने भए पनि यो दिन भने भक्तपुर नगरभरि सबैतिर जात्रा चल्ने गर्छ । जात्राका क्रममा भक्तपुर नगरभरि विभिन्न टोलमा छरिएका ३३ स्थानका छुट्टाछुट्टै देवस्थलमा सगुन चढाइन्छ ।
नगरका विभिन्न स्थानमा रहेका अष्टमातृकाका आठसहित भैरव, गणेशलगायत ३३ गरी कुल ४१ वटा देवीदेवतालाई सगुन दिइन्छ । सगुन यात्रा सूर्यमढीबाट सुरु भएर दत्तात्रय, गोल्मढी, सुकुलढोका हुँदै टौमढी पुग्छ ।
त्यस्तै गहिटी, लाकुलाछें, नासमना, भार्वाचो, इताछें, खौमा हुँदै दरबार क्षेत्र हुँदै तलेजू, चोछें, भोलाछें, थालाछें, नागपोखरी, तचपाल घुमेर पुनः सूर्यमढीमै पुगेको थियो । सूर्यमढी पुगेपछि जात्रा समापन हुने गर्दछ ।
३३ देवतामध्ये भद्रकाली र भैरवनाथलाई भने बिस्का जात्राको पहिलो दिन २७ चैतमा नै देवघरबाट निकाली रथमा राखिएको हुन्छ ।
जात्रापछि यी देवतालाई पुनः देवताघरमा फर्काइन्छ । यीमध्ये भैरव र भद्रकालीलाई भने वैशाख ५ गते जात्रा सकेपछि मात्रै देवघर फिर्ता गरिन्छ ।
जात्रा विहान ४ बजेदेखि बेलुका ९–१० बजेसम्म हुने गर्दछ ।
Categorized in समाज