बोडेस्थित “पलेस्वाँ पुखु” सार्वजनिक : उच्च अदालत
SamacharDesk – Ram Dangol | २०७९ आषाढ ३, शुक्रबार

भक्तपुरको बोडेस्थित पुरानो ऐतिहासिक धार्मिक र सांस्कृतिक रुपले महत्वपूर्ण कमलपोखरी “पलेस्वाँ पुखु” सार्वजनिक नै भएको ठहर अदालतले गरेको छ ।
हिजो उच्च अदालत ललितपुरले उक्त कमलपोखरी सार्वजनिक नै भएको फैसला गरेको छ ।
न्यायाधीशद्वय राजेन्द्र खरेल र रमेश ढकालको इजलाशबाट उक्त फैसला गरेको हो ।
कमलपोखरीको विषयमा हिजो फैसला सुनाउने थाहा पाएपछि हजारौं सर्वसाधारणहरु प्लेकार्डसहित अदालत अगाडि उपस्थित भएका थिए ।
उक्त कमलपोखरी केही समय अगाडि भूमाफियाहरुले नक्कली कागज बनाई आप्mनो कब्जामा लिई प्लटिङ गरेर विक्री वितरण समेत गरिसकेका थिए ।
तत्कालिन बोडे गाउँ पञ्चायत–६ कित्ता नं. १ को उक्त पोखरीको १५ रोपनी ९ आनामा पैmलिएको जग्गा २०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारिसनामा गरी मनाङ घर भई काठमाडौंको ठमेल बस्ने ग्याल्पो गुरुङको नाममा बकसपत्र गरी पास समेत गरिसकेको थियो ।
जसमध्ये १३ रोपनी ९ आना ग्याल्पोको नाममा, १ रोपनी तेन्जी शेर्पेनीको नाममा, १ रोपनी कर्सी जद्योना गुरुङको नाममा जग्ग पास गरेर विक्रीवितरण गरेको खुल्न आएको छ ।
यसरी ऐतिहासिक स्थल, पुर्खाको नासोको रुपमा रहेको सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरी विक्री गरेपछि जनस्तरबाट चर्काे दबाब र विरोध भएको थियो ।
यसका विरुद्ध बोडेका जनताहरुले संघर्ष समिति गठन गरेर उक्त पोखरी सार्वजनिक रुपमा नै फिर्ता ल्याउन जिल्ला अदालत भक्तपुरमा रिट दायर गरेका थिए ।
भक्तपुर जिल्ला अदालतले २०७५ साल असार १९ गते मंगलबार न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले बोडे क्षेत्रको उक्त कमलपोखरी सार्वजनिक सम्पत्ति भएको फैसला गरेका थिए ।
उक्त फैसला विरुद्ध २०७६ मा उच्च अदालत ललितपुरमा पुनरावेदनका लागि निवेदन परेको थियो । हाल उच्च अदालतले पनि उक्त कलमपोखरीको जग्गा निजी नभई सार्वजनिक नै भएको ठहर गरेको छ ।
स्थानीय वासिन्दाका अनुसार उक्त कमलपोखरीमा फुलेको कमलको फूल भक्तपुरको तलेजु भवानीलाई अर्पण गर्ने, कमलको फूलको पातमा पुजारीहरुले भ्वज खाने र साउनमा हुने नीलबाराहीको नाचमा पनि उक्त पोखरीमा फुलेको कमलको फूल अर्पण गरी जात्रा गर्नुपर्ने परम्परा रहेको बताउँछन् ।
Categorized in स्थानीय