arin enterprises

भोटो जात्रा : 'प्रमाण भए लिन आऊ'

SamacharDesk – Ram Dangol | २०८० जेठ ११, बिहिबार

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो जात्रा आज मनाइँदैछ ।

वर्षा र सहकालको देवता रातो मच्छिन्द्रनाथको रथजात्रा सोमबार पूरा भएसँगै आज भोटो देखाईंदैछ । ललितपुरकै सबैभन्दा लामो तथा महत्वपूर्ण जात्राको रुपमा परिचित बुँगद्यः जात्राको अन्तिम दिन आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थानका प्रमुखबाट सर्वसाधारणलाई भोटो देखाईन्छ ।

सोमबार मच्छिन्द्रनाथको रथलाई ललितपुरको लगनखेबाट जावलाखेल पुर्याएसँगै यो वर्षको जात्रा सम्पन्न भएको थियो । गत वैशाख २८ गते ज्योतिषहरुको समूहले मंगलबजारस्थित मंगःहितिनिर रहेको मणिमण्डप फल्चा (सोर्हतखुट्टे पाटि) मा बसी मच्छिन्द्रनाथको पश्चिम जात्राको साइत निकालेको थियो ।

जाह्वला जात्रा अर्थात जाउलाखेलमा रथ तान्ने दिनको साइत निकालिएसँगै भोटो जात्राको दिन पनि टुङ्गो लागेको छ । थतिटोलमा राखिएको रथलाई तानेर जाउलाखेल पुर्याएको चौथो दिनमा भोटो जात्रा गर्ने गरिन्छ । रथलाई याकः मिसा भुज्याः गर्दै थतिटोल  पुर्याएको केहि दिनपछि बाराही समुदायले बुंगद्यःको द्यःपूजा गर्ने गर्छन् ।

यहि द्यःपुजाकै दिन मणिमण्डप फल्चामा स्थानीयबासी, पानेजु तथा गुठी संस्थान अधिकृतको उपस्थितिमा जाह्वला जात्राको साईत हेर्ने चलन रहँदै आएको छ । सरकारकाले भोटो जात्राको अवसरमा सार्वजनिक विदाको घोषणा गरेको छ ।

संस्कृतिविद्हरुका अनुसार जात्रा करिब १६ सय वर्षअघि सुरु भएको मानिएको छ । विसं ५४६ देखि सुरु भएको मानिएको मच्छिन्द्रनाथको जात्रालाई सहकालका देवताका रुपमा हिन्दू तथा बौद्ध धर्मावलम्बी मनाउँछन्।

१२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्रा सुरुआत गराएको मानिन्छ । हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्छन्।

लोकोक्ति अनुसार धेरै पहिले एकजना नेवार कृषकले नागराज कर्कोटककी पत्नीको आँखा ठीक गरेबाट भोटो उपहार पाएका हुन्छन । एकदिन उनी जावलाखेलमा भोटेजात्रा हेर्नलाई आउँदा कसैले आफ्नो भोटो लगाएको देखेर छक्क पर्दछन् ।

उक्त भोटो लगाएका मान्छे र कृषक बीच भोटोका विषयमा चर्काचर्की परेपछि स्थानीयले भोटोको वास्तविक मालिक सप्रमाण नआउन्जेलसम्मका लागि भनेर भोटो बुंग द्यः मा राख्ने निर्णय हुन्छ । त्यसपछि आजसम्म उक्त भोटोको कोही वास्तविक मालिक छ भने अगाडि प्रमाण सहित लिन आउन आव्हानका साथ प्रदर्शन गरिने चलन छ ।

जावलाखेलमा भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई खटमा राखी बुङमती पुर्याइन्छ। रातो मच्छिन्द्रनाथलाई छ महिना पाटन र छ महिना बुङमतीमा राख्ने गरिन्छ। जात्रा सकिएर बुङमती पुर्याइएको मच्छिन्द्रनाथ छ महिनासम्म त्यहीँ राखेर साइतअनुसार पाटन मच्छिन्द्रबहालमा ल्याएर राखिन्छ।

Categorized in संस्कृति
SKIP THIS maharjan complex bumper adv