arin enterprises

तिहारको अन्तिम दिन भाईटीका मनाईँदै

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८२ कार्तिक ६, बिहिबार

नेपालीहरुको दोश्रो महान चाड तिहारको आज अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया । यमपञ्चक अर्थात तिहारको आज पाँचौ र अन्तिम दिन, घरघरमा भाइटीका मनाईँदैछ ।

आज दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई सुस्वास्थ्य र दीर्घायूको कामना गर्दै भाइटीका लगाइ विभिन्न उपहार दिने गर्छन् ।

दिदीबहिनीहरुले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान आदि मनपर्ने कुरा ख्वाउने, दिदी बहिनीहरूलाई दक्षिणा उपहार आदि दिने परम्परा रहेको छ ।

भाइटीकाको दिन बिमिरो, ओखर, मखमलीको माला, आदिको प्रयोगमा आफ्ना दिदी बहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ ।

भाईटीकाको लागि आज विहानको ११ः३९ को समय उत्तम साइत मानिएको छ । तर आज दिनभर कुनै पनि बेला भाईटीका गर्न सकिने र कुनै साइत कुर्न नपर्ने पनि भनिएको छ ।

यमराज र यमुनासँग जोडिएको कथा

यो पर्वसँग बहिनी यमुनाले आफ्ना यमराजको भाइटीका गरेको किम्वदन्ति जोडिएको छ ।

यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाईन् ।

भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि भाइटीकाको सुरूवात भएको विश्वास गरिन्छ ।

नेवार समुदायमा किजापूजा

नेवार समुदायमा भने भाइटीका वा किजापूजाको छुट्टै कथा वा किम्वदन्ति प्रचलित छ ।

विरामी परेका भाईलाई लिन यमराज आइपुग्दा दिदीले आफ्ना भाईलाई भाइटीका गरेपछि मात्र लिएर जान यमराजलाई आग्रह गरे । यमराजले पनि भाईटीका गर्न अनुमति दिए ।

दिदीले पानी र तेलको मण्डप बनाई ओखर विमिरो आदि राखेर भाईलाई मखमली फुलको माला लगाई दिइ भाईटीका गरे ।

भाईटीकाको विधि र दिदीभाईको माया देखेर प्रशन्न भएका यमराजले दिदीलाई वरदान माग्न भने ।

दिदीले तेलको मण्डप नसुकेसम्म, ओखर नसडेसम्म नगलेसम्म, विमिरो अपवित्र नभएसम्म र मखमली फूल नओइलाएसम्म भाईलाई लग्न नपाइने वरदान मागे ।

वचनले बाँधिएका यमराजले दिदीलाई सोही वरदान दिए र भाईलाई छोडेरै गए । सोही किम्वदन्ति अनुसार नै दिदीले भाईटीका गरेपछि भाईले मृत्युलाई जित्ने विश्वास गरिन्छ ।

आजको दिन दाजुभाई नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाई काठमाडौं जमलस्थित रानीपोखरीमा पुगी बालगोपालेश्वर मन्दिरमा दर्शन गर्न जाने गरिन्छ ।

यो मन्दिर वर्षमा आजकै दिन मात्र खुल्ने गर्दछ ।

 

Categorized in संस्कृति
SKIP THIS tihar2082