arin enterprises

नुवाकोटका कैदीबन्दीको अध्ययनका लागि पुस्तक हस्तान्तरण

SamacharDesk – बिकाश | २०७७ माघ १, बिहिबार

महान्यायाधिवक्ताको कार्यालयले कैदीबन्दीको अध्ययनको लागि निरन्तर पुस्तक वितरण गरिरहेको छ । यहि क्रममा आज कार्यालयले जिल्ला सरकारी वकील कार्यालय, नुवाकोटसँगको सहकार्यमा कारागार कार्यालय, नुवाकोटलाई पुस्तक हस्तान्तरण गरिएको छ ।

कारागार कार्यालय, नुवाकोटको परिसरमा आयोजित कार्यक्रममा पुस्तक कैदीवन्दीको अध्ययनको लागि विभिन्न पुस्तकहरु हस्तातरण गरियो ।

नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल, जिल्ला न्यायाधिवक्ता टेकराज भुषाल महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता शिव वाग्लेले कारागार कार्यालय, नुवाकोटका प्रमुख दुर्गा वाग्लेलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

संस्थागत सुधारमार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा नेपालको संविधान, ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि हस्तान्तरण गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ढकालले महान्यायाधिवक्ताको कार्यालयले कैदीबन्दीले अध्ययन गर्ने वातावरण बनाएको भन्दै यसले कैदीबन्दीमा सकारात्मक उर्जाको विकास भई आचरण सुधारको लागि टेवा पुग्ने विचार राख्नुभयो ।

महान्यायाधिवक्ताको कार्यालयले आठ वटा कारागारहरूका लागि पुस्तक खरिद गरी हस्तान्तरण गर्ने कार्यको थालनी गरेको हो । 

Categorized in समाज