arin enterprises

लकडाउनमा दिप प्रज्वलन गर्दै मनाइयो बुद्ध जयन्ती

SamacharDesk – विकाश | २०७७ बैशाख २५, बिहिबार

आज वैसाख पुर्णिमा अर्थात बुद्ध जयन्ती । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मको साथै बुद्धत्व प्राप्ती र महापरिनिर्वाण भएको दिन ।

विगतका वर्षहरुमा भगवान गौतम बुद्ध र उनका उपदेशहरु सम्झिँदै विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने गरिन्थ्यो । 

यस वर्ष कोरोना भाइरस कोभिड १९ को संक्रमण रोकथामका लागि देशैभर लकडाउन जारी रहेको अवस्थामा यस वर्ष कुनै औपचारिक कार्यक्रम भने भएन ।

बुद्ध जयन्ती समारोह समिति २५६४ ले पनि सार्वजनिक सूचना जारी गर्दै सबैले आआफ्नै विहार वा घरमै बुद्ध पूजाको साथमा परित्राण, दिप प्रज्वलन गर्दै बुद्ध जयन्ती मनाउन आव्हान गरेको थियो ।

काठमाडौंको वौद्ध आस्थाको केन्द्र स्वयम्भु र वौद्ध स्तुपामा पनि आज साधारण पूजा मात्र गरेर बुद्ध जयन्तीको औपचारिकता पुरा गरिएको छ ।

विगतमा आजको दिन स्वयम्भु र वौद्धमा दर्शन, पूजापाठ र प्रार्थनाका लागि हजारौंको संख्यामा मानिसहरु जम्मा हुने गर्थे तर देशमा जारी लकडाउनका कारण यस वर्ष स्वयम्भु र वौद्ध सुनसान नै रह्यो ।

वौद्धमा केही वौद्ध धर्मावलम्बी, धर्मगुरु र भिक्षुहरुले भने विधिपूर्वक प्रार्थना र पूजापाठ गरेका छन् ।

यसैबीच, राष्ट्रपति विद्या भण्डारी स्वयम्भु पुग्नुभई स्वयम्भु स्तुपाको दर्शन गर्नुका साथै पूजा गर्नुभएको छ ।

यसको साथै आज सरकारको आह्वानमा देशका विभिन्न वौद्ध विहार लगायतका धार्मिक स्थलहरुमा, घरघरमा र सार्वजनिक स्थलमा पनि दीप प्रज्वलन गरियो ।

सरकारले आज कोरोना भाइरसको महामारी रोकथाम र उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेको थियो ।

स्वयंम्भूमा पनि आज साँझ दीप प्रज्वलन गरिएको छ । 

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी वुद्ध जयन्तीमा लुम्बिनीमा अन्तर्राष्ट्रिय वौद्ध सम्मेलनको कार्यक्रम राखेको थियो । उक्त सम्मेलन पनि कोरोना महामारीकै कारण स्थगित भयो ।

आज बुद्ध जयन्तीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको साथमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिपक्षी दल नेपाली कांग्रेसका अध्यक्ष शेरबहादुर देउवाले शुभकामना सन्देश जारी गर्दै देशमा शान्ति कायम होस् भन्ने कामना गरेका छन् ।

 

फोटो सौजन्य : हेम डंगोल/दिपेश राजभण्डारी

Categorized in संस्कृति