तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण हुँदै
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ आषाढ १६, मंगलबार

काठमाडौँ महानगरपालिकाले वडा–३२ स्थित तीनकुनेमा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने योजना अघि बढाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने जानकारी दिएको छ ।
‘तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । कामपा प्रमुख बिद्यासुन्दर शाक्यले भन्नुभयो, ‘जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको थियो । यस पटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी अघि बढेका छौँ ।’
प्रमुख शाक्यले तीनकुनेको मुआब्जा विवाद सुल्झाउन काठमाडौँ महानगरपपालिकाले प्रारम्भिक अधिकारी नै तोकेको र प्रतिवेदन समेत सम्वन्धित निकायमा पठाइसकेको जानकारी दिनुभयो ।
पार्कको डिजाइन तयारी अवस्थामा रहेको र समस्या समाधान हुने वित्तिकै काम तिव्र गतिका साथ अघि बढ्ने कामपा प्रमुख शाक्यको भनाई हो ।
जग्गा अधिग्रहण गर्नुपर्ने र मुआब्जा वितरण हुन बाँकी क्षेत्रफलका लागि आवश्यक रकम व्यवस्थापन गर्न संघीय सरकार समेत सकारात्मक रहेकाले यो पटक मुआब्जा विवाद समाधान भई पार्क निर्माणको काम अघि बढ्नेमा महानगरपालिका विश्वस्त बनेको छ ।
केही जग्गाधनीले चलनचल्तीको मुल्यअनुसार मुआब्जा पाउनुपर्नेलगायतका माग गरेपछि विवाद अहिलेसम्म टुंगोमा पुग्न सकेको छैन । धेरै जग्गाधनीले पहिले नै मुआब्जा पाइसकेका छन् ।
कामपा सम्पदा तथा पर्यटन विभाग प्रमुख अर्चना शाक्यले करीब ५० रोपनी बढी क्षेत्रफलमा फैलिएको तीनकुनेमा बुद्धपार्क निर्माणका लागि डिजाइन तयार गरिसकेका जानकारी दिनुभयो ।
‘हिन्दु र बौद्ध धर्मको मर्मको फ्युजन गरी निर्माण हुने उक्त पार्कको तीन कुनामा ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका साथै ‘बुद्ध’, ‘धर्म’ र ‘संघ’ लाई आधार मानेर डिजाइन तयार गरिएको छ’ विभाग प्रमुख शाक्यले जानकारी दिनुभयो ।
शंख अर्थात प्रशिद्धि, दिर्घायू, सम्वृद्धि र आत्मा–शान्तिका साथै चक्र अर्थात शुद्ध चेतनालाई समेत आधार मानेर डिजाइन तयार गरिएको उहाँले जानकारी दिनुभयो ।
शाक्यका अनुसार अण्डरग्राउन्ड पार्किङ, पहिलो तलामा क्युरिओका सामानहरु बेच्ने पसल, सार्वजनिक सौचालय, प्रदर्शनी कक्षहरु रहने छन् । पार्कमा अपाङ्गमैत्री, बालबालिकाका लागि खेल्ने ठाउँ, ज्येष्ठ नागरिकका लागि आराम गर्ने स्थान, साइकल ट्याकलगायत पनि रहने गरी डिजाइन तयार पारिएको छ ।
डिजाइन अनुसार माथिल्लो तलामा २ सय क्षमताको ध्यानकेन्द्र रहनेछ ।
त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिने वित्तिकै पुगिने ठाउँ भएकाले पनि तीनकुनेमा निर्माण हुने बुद्धपार्कले पर्यटकलाई आकर्षित गर्ने र सहरको सौदर्य बढाउन उपयुक्त स्थान हुने उहाँको भनाई छ ।
पार्कको डिजाइन अनुसार तीनकुनेको बीचमा १३ मिटर अग्लो र ९६ मिटर व्यासका गुम्बज आकारको संरचना रहने छ भने गुम्बजमा करीब १६ मिटर अग्लो बुद्धको मुर्ति रहने छ ।
मुर्तिबाहेक करीब डेढ अर्बको लगानीमा निर्माण हुने बुद्धपार्कमा बुद्धमुर्ति भएको ठाउँसम्म पुग्न १२ ओटा प्रवेशद्वार राखेर डिजाइन तयार पारेको पनि शाक्यले जानकारी दिनुभयो ।
Categorized in स्थानीय