दुवै खुट्टा गुमाएका हरि बुढामगरले सगरमाथाको चुचुरो चुमे
SamacharDesk – Aakash Rajopadhyaya | २०८० जेठ ७, आइतबार

यो वर्षको सगरमाथा आरोहणको सिजन सुरु भइरहेको छ । गत दुई साताअघिदेखि सुरु भएको सगरमाथा आरोहणमा धेरै पर्वतारोहीहरु सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ ।
पर्यटन विभागले दिएको जानकारी अनुसार विहीबारसम्म ३२५ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएको छ । पर्यटन विभागका अनुसार यो वर्ष सगरमाथा आरोहणका लागि विभिन्न एजेन्सीमार्फत ६५ देशका ५७८ आरोहीले अनुमति लिएका थिए ।
सगरमाथा आरोहण गर्ने क्रममा दुवै खुट्टा गुमाएका पूर्व ब्रिटिस गोर्खा सैनिक हरि बुढामगरले सगरमाथाको सफल आरोहण गरेका छन् । यही जेठ ५ गते दिउँसो तीन बजे बुढा मगरको टोली सगरमाथाको शिखरमा पुगेको हो ।
शिखरमा पुगेसंगै उनले दुवै खुट्टा नभएकाले सगरमाथाको सफल आरोहण गरेको विश्व रेकर्ड पनि बनाएका छन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले बेलायती सेनाको तर्फबाट अफगानिस्तानमा खटिएको बेला सन् २०१० मा विष्फोटमा परी दुवै खुट्टा गुमाएका थिए ।
उनले यस अघि चुलु, किलिमन्जारो, मेरापिक लगायतका हिमालको आरोहण गरिसकेका थिए ।यस सिजनमा कामरिता शेर्पाले २७ औं पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभएको छ।
यो सिजनमा सगरमाथा चढ्ने क्रममा ११ जनाले ज्यान गुमाएका छन् । गत शुक्रबार एक मलेसियनसहित दुई आरोहीले ज्यान गुमाएसँगै यो सिजनमात्रै सगरमाथा आरोहणको क्रममा ज्यान गुमाउनेको संख्या ११ पुगेको हो ।
मलेसियन नागरिक अग अस्कन्दर बिन अम्पुअन याकुब सगरमाथाको चुचुरोभन्दा ५० मिटर तल पुग्दा अचानक बिरामी परेपछि आधारशिविर ल्याईएको थियो । उनको सोही क्रममा मृत्यु भएको हो । अर्का एक जनाको भने पहिचान खुल्न बाँकी छ ।
सगरमाथा आरोहणका क्रममा ११ जनाको मृत्यु भएको पर्यटन विभागद्वारा गठित अनुगमन समितिले जानकारी दिएको छ ।
Categorized in समाज